
सुनसरी । इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता भएको छ ।
भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा प्रतियोगिता गरिएको हो । भैँसीपालन गर्दै आएका किसान अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि किसानलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता गरिएको आयोजक संस्थाका सचिव राजन धमलाले जानकारी दिनुभएको छ ।
इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनमा सुनसरी र मोरङमा भैँसीपालन गर्दै आएका किसानबीच प्रतिस्पर्धा गरिएको हो । दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव धमलाले जानकारी दिनुभयो । प्रतियोगितामा सुन्दरहरैँचाका ३० किसानका ५० भैँसी प्रतियोगितामा सहभागी गरिएका थिए ।
प्रतियोगितामा इटहरी उपमहानगरपालिका–३ का चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम भएको छ । त्यसैगरी सुन्दरहरैँचा–५ की पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको धमलाले बताउनुभयो । त्यसैगरी सुन्दरहरैँचा–५ कै तीर्थकुमारी लिम्बूको भैँसी सान्त्वना पुरस्कार पाउन सफल भएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव धमलाले जानकारी दिनुभयो ।
भैँसी प्रतियोगिताका निर्णायकमा भेटेरीनरी अस्पताल सुनसरीका प्रमुख कुमारसिंह खत्री, इटहरी उपमहानगरपालिकाका पशुपक्षी शाखाका प्रमुख डा दुर्गाबहादुर श्रेष्ठ र इलारी संस्थाका कार्यक्रम संयोजक एकमणि नेपाल रहनुभएको थियो । भैँसीको स्वास्थ्य, रूप, जिउ डाल, जात, दूधको उत्पादन लगायत गुणका आधारमा तीन सदस्य निर्णायक टोलीले विजेता भैँसी घोषणा गर्नुभएको थियो ।
प्रतियोगिताका विजेता भैँसी धनी किसानलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको कार्यक्रम संयोजक धमलाले जानकारी दिनुभयो । पछिल्लो समय किसानले भैँसी पाल्न छाड्न थालेकाले यसको महत्व बुझाउन प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष खेम काफ्लेले जानकारी दिनुभयो । भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि बर्सेनि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक ध्रुव कोइरालाले बताउनुभयो ।
विगतका वर्षभन्दा यस वर्ष किसानकै घरदैलोमा पुगेर प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ । दुग्ध उत्पादक सहकारी संस्थाले किसानबाट उत्पादन भएको दूध सङ्कलन, बिक्रीवितरण गर्दै आएको छ भने आवश्यक ऋणसहितको सुविधा दिँदै आएको व्यवस्थापक कोइरालाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने