
बाँके । राप्ती सोनारी गाउँपालिकामा निर्माणाधीन रङ्गशाला बजेट अभावमा अलपत्र परेको छ ।
राप्ती सोनारी–५ बिनौनामा निर्माणाधीन राप्ती सोनारी रङ्गशालामा वाल लगाउने काम भए पनि अन्य मर्मतसम्भारको काम हुन नसक्दा खेल गतिविधि ठप्प भएका छन् । रङ्गशाला निर्माण नहुँदा वडा तथा गाउँपालिकास्तरीय खेलकुदका प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने गरेको स्थानीय युवा सुनिल गिरीले बताउनुभयो । उहाँले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले रङ्गशाला निर्माणमा चासो नदेखाएको आरोप लगाउनुभयो ।
राप्ती सोनारी–५ बिनौनास्थित भुवर भवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले राप्ती सोनारी रङ्गशाला निर्माण भए गाउँस्तरबाट खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने बताउनुभयो । व्यवस्थित रङ्गशाला नहुँदा विद्यार्थीले खेलकुदका अभ्यास गर्न नपाएको उहाँको भनाइ छ ।
राप्ती सोनारीका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले रङ्गशाला निर्माणमा ठूलो बजेटको आवश्यकता भएको बताउनुभयो । ‘विगतका वर्षमा आएको बजेटले वाल लगाउने काम भएको छ, ठूलो बजेटको आवश्यकता छ थोरै आउँछ’ देवकोटाले भन्नुभयो– ‘यो आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन भएको छ, त्यसबाट मर्मतसम्भारको काम गर्ने तयारी गरेका छौँ ।’
यस वर्ष राप्ती सोनारी रङ्गशालामा आएको १५ लाख बजेटमा माटो पटानलगायत काम हुने भएको छ । रङ्गशाला भित्रै रहेका रूख कटानका लागि वन कार्यालयसँग आवश्यक समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष तप्त पौडेलले आगामी वर्षमा रङ्गशाला निर्माणका लागि गाउँपालिकाबाट पनि बजेट विनियोजन गर्ने र प्रदेश सरकार तथा सङ्घीय सरकारसँग पनि बजेटका लागि पहल गर्ने बताउनुभयो ।
बाँके क्षेत्र नम्बर १ का सङ्घीय सांसद सूर्य ढकालले अलपत्र अवस्थामा रहेको राप्ती सोनारी रङ्गशालालाई पूर्णता दिँदै नरैनापुर रङ्गशाला र कोहलपुरमा अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेट विनियोजनका लागि आफूले पहल गरिरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग