
सुदूरपश्चिम । रेबिज रोग रोकथामका लागि कैलालीमा थालिएको बृहत् खोप अभियानअन्तर्गत १० हजार सङ्ख्याका घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ ।
खोप अभियानका क्रममा सात सयभन्दा बढी सङ्ख्याका भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ । जिल्लाका सबै १३ पालिकासँग समन्वय गरेर रेबिज रोगविरुद्धको खोप चलाइएको हो । स्थायी बन्ध्याकरण गरिएका कुकुरको पहिचानका लागि उनीहरूको कानमा ‘नचिङ’ (साङ्केतिक चिह्न) गरिएको छ । बन्ध्याकरणबाट कुकुरको प्रजननदर नियन्त्रण गरी बच्चा जन्मिने क्रम रोक्न सकिने बताइएको छ ।
कैलालीसहितका जिल्लामा विपन्न समुदाय रहेको ग्रामीण बस्तीमा सामुदायिक कुकुरको सङ्ख्या बढ्दै जाँदा रेबिज रोगको जोखिम पनि बढेको बताइएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीले टोलबस्तीमा पाल्तु कुकुरको सङ्ख्या बढेसँगै बढेको रेबिज रोगको जोखिमलाई रोक्न खोप र बन्ध्याकरण अभियान थालिएको बताउनुभयो ।
‘जिल्लाको गौरीगङ्गा नगरलाई रेबिज रोगविरुद्धमा पूर्ण खोपयुक्त नगरपालिका बनाउने योजना छ’ उहाँले भन्नुभयो– ‘खोप दिइएका कुकुर, बिरालोमा रोग प्रतिरोधी क्षमताका लागि खोप दिएको तीन महिना पूरा भएपछि बुस्टर डोज लगाउने गरी खोपकार्ड वितरण गरेका छौँ ।’
रेबिज रोग तातो रगत भएका स्तनधारी पशुपक्षीमा लाग्ने ‘लिस्सा’ भाइरसबाट हुने प्राणघातक रोग रहेको डा अवस्थी बताउनुहुन्छ । खोप लगाउन सकिएमा यो रोगबाट बच्न सकिन्छ । यो रोग लागेको पशुले मानिसमा टोक्दा यसको भाइरस दिमाग वा गिदीमा पुगेपछि रोगको लक्षण देखिन सुरु हुन्छ ।
रेबिज रोगका जङ्गली र सहरी गरी दुई चक्र हुन्छन् । जङ्गली चक्रमा जङ्गली स्याल, फ्याउरो, भ्याम्पायर, चमेरोमा हुन्छ । शहरी चक्र सहर गाउँबस्तीमा पालिएका कुकुर, बिरालो र स्तनधारी पशुमा हुन्छ । रेबिज लागेको जङ्गली स्याल, फ्याउरो र घरपालुवा सामुदायिक कुकुर, बिरालोको सम्पर्क भई टोकाइ भएमा यो रोग मानिसमा सर्ने गर्छ । यस्तो जोखिको अवस्थामा पाल्तु कुकुरको व्यवस्थापन र बृहत् खोप कार्यक्रम गरेर रेबिजको भाइरसको सम्पर्क टुटाउन सक्नुपर्ने पशुचिकित्सकको भनाइ छ ।
‘शहरी र जङ्गली चक्रबीचको सम्पर्क टुटाउन नसकिएमा रेबिजको जोखिम रहिरहन्छ’ डा अवस्थीले भन्नुभयो ‘नेपालमा वर्षेनी ६० देखि एक सय व्यक्ति र ४० देखि ५० हजार सङ्ख्याका गाईवस्तु रेबिजकै कारण मर्ने गरेको तथ्याङ्क छ ।’
अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम नेपालमा सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य राखिएको छ । पशु अधिकार र पशु कल्याणका दृष्टिमा कुकुरलाई मार्न नपाइने भएकाले मानवीय तवरबाट कुकुरको सङ्ख्या घटाउनका लागि यसको बन्ध्याकरण गर्नुपर्ने विश्वव्यापी अभ्यास छ ।
यसका अतिरिक्त रेबिज रोग नियन्त्रण गर्न नागरिकमा निरन्तर जनचेतना अभिवृद्धि कार्यक्रमका साथै सबै टोलबस्तीका कुकुरमा खोप र बन्ध्याकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउन जरुरी रहेको विज्ञहरूको भनाइ छ ।
विश्व स्वाथ्य सङ्गठनको तथ्याङ्कका अनुसार रेबिज रोगकै कारण विश्वमा वर्षेनी ६० हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । मृत्यु हुनेमा आधाभन्दा बढी पाँचदेखि १५ वर्ष उमेर समूहका बढी रहेको जनाइएको छ । रेबिज लागेको कुकुरसहित अन्य पशुबाट यो रोग लाग्न सक्ने भए पनि ९५ प्रतिशत रेबिज रोग कुकुरको टोकाइबाट लाग्ने गरेको तथ्याङ्क छ ।
नेपाललगायत विकासोन्मुख मुलुकमा रेबिज लागेर बौलाएका कुकुर, बिराला, स्याल, फ्याउरोले टोकेका मानिसले त्यति वास्ता नगर्ने गरेको, चिकित्सको सल्लाह नलिने र खोप पनि नलाउने प्रवृत्ति रहँदा रेबिजको जोखिम रहेको बताइन्छ । रेबिज लागेको बौलाहा कुकुर लगायतका पशुले टोकेमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार खोप लगाउनुपर्छ । त्यस्ता पशुलाई पनि एन्टिरेबिज खोप लगाउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग