
झापा । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब प्रवेश गरेको छ । आयोजक झापा–११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
आज भएको खेलमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्डकपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
पेनाल्टी सुटआउटमा चर्च ब्वाइजका लागि सुरजजिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले गोल गरे । चर्च ब्वाइजका सर्ज डिकाको प्रहार झापाको गोलकिपर सुदीप लिम्बूले बचाए ।
झापाका लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष चापागाईँले गोल गरे भने प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्कियो । विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार गोलकिपर दीप कार्कीले बचाए ।
यसअघि १४ मिनेटको अतिरिक्त समयमा विजय भुजेलको प्रहार पोस्टमा लागेर फर्किएको थियो । पहिलो सात मिनेटमा फाकुन्लेको प्रहार झापाका रक्षकलाई लागेर फर्कियो । अतिरिक्त समयको दोस्रो हाफमा मार्क जुनियर ह्यारीसनले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर दीप कार्कीले बाहिर फ्याल्दै चर्च ब्वाइजको सङ्कट टारेका थिए ।
चर्च ब्वाइजका फकुन्लेले गोलकिपर सुदीप लिम्बूलाई बिट गरेर प्रहार गरेको चिपरक्षक पेमा तामाङले क्लियर गरेका हुन् । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की बने । उनले मेडलसहित रु ११ हजार पुरस्कार प्राप्त गरे । आगामी सोमबार हुने उपाधि भीडन्तमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० टिमको सहभागिता छ । उपाधि विजेताले नगद रु १३ लाखसहित आकर्षक ट्रफी र उपविजेताले नगद रु सात लाख पाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग