
मनाङ । हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् ।
जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताउनुभयो । “जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “एघार जना महिलाको समूह बनाएर १० रोपनी जग्गामा खेती गरिरहेका छौँ ।” सामूहिक खेतीले आलु आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको उहाँको भनाइ छ ।
“यहाँ आलुखेती प्रशस्त हुने भएकाले यसतर्फ आकर्षित भएका हौँ । उत्पादन हुन थालेपछि आलुको बजारमा माग पनि बढिरहेको छ । उत्पादित आलु यहीँ खपत भइरहेको छ”, स्थानीय घलेले भन्नुभयो । जिल्लाका अन्य क्षेत्रमा पनि सामूहिक खेती गर्न सके यहाँ उत्पादित आलु बाहिर निर्यात गरेर आम्दानी बढाउन सकिने उहाँको भनाइ छ ।
किसान कान्छी गुरुङले एक्लैले काम गर्दा उत्पादन कम हुने भएकाले सामूहिकरूपमा काम थालिएको बताउनुभयो । “सामूहिक हुँदा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ”, उहाँले भन्नुभयो ।
मनाङमा उत्पादित आलुको माग ठूला सहरमा भइरहेको भन्दै गुरुङले मागअनुसारको उत्पादन हुन नसकेको बताउनुभयो । सामूहिक खेती सुरु गरेसँगै मनग्य आम्दानी हुन थालेपछि कृषि पेसाबाट पनि आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश आमनागरिकमा पुर्याउन सकिएको उहाँको भनाइ छ ।
उहाँहरूजस्तै यहाँका महिला आलुखेतीमा आकर्षित भएका छन् । मनाङ पर्यटकीय क्षेत्र भएकाले उत्पादित आलु यही खपत हुने किसान बताउँछन् । बाहिरको मागलाई पूर्ति गर्न नसकिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
हिउँद लागेसँगै जाडो छल्न काठमाडौँ, पोखरालगायत सहर झरेका यहाँका किसान अहिले गाउँ फर्केर आलु रोप्नमा व्यस्त भएका नासो–५ का वडा सदस्य फूलमाया विकले बताउनुभयो । “यस वर्ष समयमा नै हिउँ परेकाले जमिन गलेको छ । अहिले खेतीका लागि समय पनि उपयुक्त भएकाले अधिकांश खेतीपातीमा व्यस्त हुन थालेका हुन्”, उहाँले भन्नुभयो ।
गाउँ फर्किएर जौँ, गहुँ, आलु, उवा, करु, फापरलगायत खेती गर्न किसान व्यस्त हुन थालेका वडा सदस्य विकको भनाइ छ । नासोसँगै चामे गाउँपालिकामा आलु लगाउन भ्याइनभ्याइ भइरहेको उहाँले जानकारी दिनुभयो ।
वडा सदस्य विकले भन्नुभयो, “यस वर्ष समयमा नै हिउँ परेकाले कृषि पेसा गर्नेलाई सहज भएको छ । जमिन भिजेकाले सिँचाइको समस्या छैन । यतिबेला पालिकाभरिका किसान आलु रोप्न व्यस्त छन् ।” नासोका ओडार, तिल्चे, नाचै र ताचै, थोचे बढी आलु फल्ने क्षेत्र भएको नासो–५ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका अधिकृत घनश्याम गैरेले किसानलाई बारीमै गएर आलु रोप्ने तरिका सिकाएको बताउनुभयो । “कसरी आलु लगाउँदा बढी उत्पादन हुन्छ । मलको मात्रा, चिस्यानको अवस्था र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो ।
गैरेका अनुसार यहाँ बढी उत्पादन हुने खेतीलाई ज्ञान केन्द्रले पनि प्राथमिकता दिँदै आएको छ । पालिका र ज्ञान केन्द्रको समन्वयमा कृषकलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न अनुदानको व्यवस्थासमेत गरिएको भन्दै यहाँका किसानलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग