+

मङ्गलनाथ महोत्तरीका अर्का जलाधिनाथ

महोत्तरी । आमरूपमा ‘जलाधिनाथ’ भनिँदा महोत्तरीको जलेश्वर–१ स्थित श्री जलेश्वरनाथ भन्ने बुझिन्छ । तर महोत्तरीकै सुदूरपश्चिम दक्षिणी भेगको सोनमा–६ मगरथानास्थित श्री मङ्गलनाथ महादेवको शिवलिङ्ग पनि जलमै विराजमान छ । आज महाशिवरात्रि पर्वका अवसरमा श्री मङ्गलनाथ शिवलिङ्गको दर्शन र पूजाआराधना गर्नेको भीड छ ।

जलेश्वरनाथ भगवान् शङ्करले आफैँ स्थापना गर्नुभएको शिवपुराण र मिथिला माहात्म्यमा वर्णित छ । यसैगरी मङ्गलनाथ पनि अनादिकालमै स्थापित शिवलिङ्ग मानिन्छ । मङ्गलनाथ शिवलिङ्ग तपस्वी योगीजनले पाँच सय वर्षअघि पत्ता लगाएदेखि पूजाआराधना गरिँदै आइएको मगरथानावासी बताउँछन् ।

जमिनको सतहबाट करिव २० फिट गहिराइमा पानीले ढाकिएर रहेको मङ्गलनाथ शिवलिङ्गको आराधनाले समस्त कष्ट निवारण भई सुखसन्तोष प्राप्त हुने जनविश्वास छ । जिल्ला सदरमुकाम जलेश्वरबाट करिब ३५ किलोमिटर पश्चिम भारतीय सीमावर्ती मगरथाना गाउँअवस्थित मङ्गलनाथ शिवलिङ्ग जलेश्वरनाथकै झैँ स्थापित परम्पराका हुनुपर्ने मगरथानाका बासिन्दा अशेश्वरप्रसाद यादव बताउनुहुन्छ ।

घजलेश्वरनाथ र मङ्गलनाथ समान प्रकृतिका शिवलिङ्ग छन्, दुवै जलमा विराजमान’  यादव भन्नुहुन्छ– ‘यो समानताले दुवै शिवलिङ्ग एकै कालमा स्थापित हुन् भन्ने अड्कल गर्न सकिन्छ ।’ जलेश्वरधाम क्षेत्र जनकपुरधामसँग निकट रहेका हुँदा खोजीनीतिमा परेका र मङ्गलनाथ दूरदराजमा हुँदा खोज, अन्वेषण र अध्ययनको कम चासोमा परेका यादवको भनाइ छ ।

मङ्गलनाथ शिवलिङ्ग कहिल्यै नसुक्ने पानीमा ढाकिएको पाँच फिट मोटाइ र दुई फिट उचाइको देखिन्छ । मङ्गलनाथ शिवलिङ्ग परिसरमा केही लेखिएको जस्तो देखिने शिला छन् । यिनको पुरातात्विक अध्ययन हुनसके यसबारे थप तथ्य आउनसक्ने मगरथानाकै बासिन्दा शिक्षण पेसाका धर्वेन्द्रकुमार यादव बताउनुहुन्छ । यसबारे स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो नदिएका मगरथानावासीको गुनासो छ ।

जलाशयमा भेटिएपछि तपस्वीजनले पूजाआराधना गर्दै आएका शिवलिङ्ग परिसरमा पछि मन्दिर निर्माण भएको स्थानीय पाका व्यक्ति बताउँछन् । मन्दिर परिसरमै हाल गणेश र पार्वतीको मन्दिर स्थानीय भक्तले निर्माण गरेका छन् । मन्दिर पसिरमै विशाल पिपलको रुख र पुरानो इनार देखिन्छ । यसैगरी मन्दिरदेखि पूर्व शिवसागर तलाउ छ । यस तलाउमा स्नान गरी यहीँकै जल महादेव मङ्गलनाथलाई चढाइए भक्ति सफल हुने मन्दिरका पुजारी राजदेव गिरी बताउनुहुन्छ ।

यहाँ प्रत्येक वर्षको महाशिवरात्रि र साउन महिनाका सोमबारका दिन धार्मिक मेला लाग्दै आएको छ । यस ठाउँको थप अध्ययन र पुरातात्विक अन्वेषणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर यादवको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै