
जाजरकोट । भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुम पश्चिम र सल्यानमा महिला तथा बालबालिकामा कुपोषणको समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा तीन महिना सञ्चालन गरिएको स्वास्थ्य शिविरका क्रममा महिला र बालबालिकामा समस्या देखिएको हो ।
मङ्सिरदेखि माघसम्म सञ्चालन भएको विपतको समयमा प्रजनन् स्वास्थ्य सेवामा न्यूनतम आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ स्वास्थ्य शिविर सञ्चालन गरिएका थिए । शिविरमा सेवा लिन आएका महिला र बालबालिकाले पर्याप्त मात्रामा पोषिलो खानेकुरा खान नपाउँदा कुपोषणको जोखिम रहेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ । तीन महिनाको अवधिमा शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सेवा लिनेमा पुरुष ९ सय ४४ र महिला ६ हजार तीन सय ५५ छन् ।
शिविरमा चार हजार एक सय नौ महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो । जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुसे गाउँपालिका तथा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा शिविर सञ्चालन गरिएको थियो । प्रभावित जिल्लामा बाह्रैमास खान नपुग्ने, भूकम्पपछि खान र बस्न समस्या, सन्तुलित खानाको अभावलगायत कारणले महिला र बालबालिकामा कुपोषणको समस्या देखिएको हो । जाजरकोटको कुशे र बारेकोटका महिला तथा बालबालिकामा कुपोषणको समस्या बढी देखिएको छ । ती ठाउँमा परिवार नियोजनको साधन प्रयोग गर्ने ज्ञानको कमी रहेको पाइएको छ ।
नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले पालिकामा अझैँ स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने बताउनुभयो । उत्पादन हुने क्षेत्रमा घर, टहरा निर्माण गरिँदा खाद्यान्नको समस्या छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय समेत चामलको अभाव रहेको उहाँले बताउनुभयो ।
बारेकोटमा पनि नलगाडकै जस्तै समस्या रहेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताउनुभयो । आठबीसकोटका नगरप्रमुख रवी केसीले विपतमा सबैले एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग