
महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा मिथिला महाकुम्भ र महाशिवरात्रि पर्वको चहलपहल बढेको छ । महाशिवरात्रि र १५ दिन मिथिलाका विभिन्न तीर्थस्थल घुम्दै फन्को लगाइने महाकुम्भ नजिकिँदै गर्दा यहाँ यी पर्वको तयारीसँगै चहलपहल बढेको हो ।
यसपटक आगामी शुक्रबार महाशिवरात्रि मनाएसँगै त्यसको दुई दिनपछि महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमा यात्रा शुरु हुन्छ । महाशिवरात्रि मिथिलामा भक्ति, निष्ठा र मेलाउत्सवको पर्व रहँदै आएको छ । पर्वका अवसरमा शिवालयमा आयोजना हुने महाशिवरात्रि मेला हेर्न जाने खर्चको जोहोमा मैथिल (मिथिलाका बासिन्दा) केही दिन अघि नै लाग्दछन् ।
महोत्तरीका प्रसिद्ध शिवालय जलेश्वरनाथ, टुटेश्वरनाथ, मङ्गलनाथ र सिद्धनाथसहितका ठाउँमा पुरातनकालदेखि नै तीनदिने मेला उत्सव आयोजना हुँदै आएको छ । अहिले प्रत्येकजसो शिवालय परिसरमा मन्दिरको रङरोगन र मेला व्यवस्थापनको तयारी भइरहँदा यहाँका गरिब परिवारका व्यक्ति बेलपत्र, भान्टाभार, धतुरो र फूलपाती बेचेर केही आर्जन गर्नमा जुटेका छन् ।
बेलपत्र, धतुरो र फूलपाती पुँजी बेगरै खोजमेल गर्न सकिने तथार भान्टा पनि सुलभ मूल्यमै पाइने र भार बनाएर बेच्दा मनमाफिकको दाम पाइने विगत अनुभवले गरिबलाई यो पर्व पर्खाइमा रहने गरेको हो । ‘पछिल्ला आठ÷नौ वर्षदेखि बेलपत्र र भान्टाको भार मेरो गुजारामा सहयोगी बन्दै आएको छ, भङ्गाहा–५ सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिर परिसरमा शिवरात्रिका बेला बेलपत्र र भान्टा भार बेचेर पाएको आम्दानीले घरगुजारामा नगद खर्चको जोहो हुँदै आएको छ’ भङ्गाहा–४ पलारकी सियानकीदेवी बाँतर भन्नुहुन्छ ।
गरिब बस्तीका किशोरकिशोरी नजिकका वनक्षेत्रमा बेलपत्र, धतुरो र पाती खोज्न निस्कने गरेका छन् । भान्टा उत्पादन गरेका गरिब किसान ‘भार’ बनाउने बाँसको कप्टेरा चिर्न व्यस्त देखिन्छन् । एउटा भारमा दुई भान्टा लाग्ने र पर्वको दिन मन्दिरअघि पु¥याएपछि भाकलवालाले राम्रो मूल्य दिएर लैजाने गरेका लोहारपट्टी–९ पीपराढीकी शिलवती देवीको विगत अनुभव छ ।
आम मैथिललाई पर्वविशेषमा हुने उत्सव र गरिबलाई केही आर्जन हुने विश्वासले महाशिवरात्रि पर्वको चाह हुने गरेको लोहारपट्टी–६ का सामाजिक कार्यकर्ता ७५ वर्षीय चन्देश्वर मण्डल बताउनुहुन्छ । महाशिवरात्रिमा व्रत उपवास रही शिवजीलाई भान्टाको भार चढाए चर्मरोग निको हुने मैथिल जनविश्वास छ । खासमा शिवालयमा चर्मरोगबाट छुटकारा पाउँ भन्ने पुकार गरेका भक्तजनले ‘भार’ चढाउने भाकल गर्छन् ।
हिन्दू मैथिल परम्परामा शिव आराधनाले चाँडै प्रशन्न हुने इष्टदेव मानिन्छन् । महाशिवरात्रिमा भक्तजनले गर्ने सम्झना र उपासनाबाट खुसी भएर मनले चाहेको फल दिने मैथिल विश्वास गर्छन् । यसैले महाशिवरात्रि पर्व मिथिलामा खास रहँदै आएको पाका मैथिलको भनाई छ । अहिले यो पर्व नजिकिनसँगै दुई दिनपछि नै मिथिला माध्यमिकी परिक्रमा शुरु हुने भएपछि यहाँ यी दुवै पर्व परम्पराको तयारीले चहलपहल बढाएको हो ।
महाशिवरात्रि पर्वका लागि महोत्तरीका शिवालयमा अहिले उत्सवको तयारी छ । जिल्लाको बर्दिबास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ, भङ्गाहा नगरपालिका–५ स्थित श्रीसिद्धनाथ, सोनमा गाउँपालिकाको मगरथानास्थित श्रीमङ्गलनाथ, सम्सी गाउँपालिकाको गेढाभेटपुरस्थित श्री धष्नेश्वर र जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१ स्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा पर्वको तयारी अघि बढेको हो । मिथिलामा फागुन कृष्ण द्वादशीदेखि चतुर्दशीसम्म महाशिवरात्रि मेला आयोजन गरिने परम्परा छ ।
जलेश्वर–१ स्थित श्रीजलेश्वरनाथ महादेव जलभित्र समाधि लगाएर विराजमान शिवलिङ्ग आदिकालमा भगवान् शङ्कर आफैँले स्थापित गर्नुभएको विश्वास गरिन्छ । ‘जलेश्वरो महालिङ्गो स्थापितं श्रीशिवं स्वयं’ शिवपुराणमा वर्णित यो पङ्क्तिले नै श्री जलेश्वरनाथ अनादिकालमै स्थापना भएको शिवलिङ्ग मानिएको जलेश्वर–५ का बासिन्दा पूर्वीय दर्शन तथा साहित्यका अध्येता एवं मिथिला माहात्म्यका नेपाली अनुवादक ध्रुव राय बताउनुहुन्छ । मिथिलामा महाशिवरात्रि र मिथिला महाकुम्भ (माध्यमिकी परिक्रमा) बारे मिथिला माहात्म्यमा वर्णन छ ।
चुरे पर्वत श्रेणीको थुम्कोमा अवस्थित श्री टुटेश्वरनाथ, रातु र बडहरी नदीको सङ्गमस्थित श्री सिद्धनाथ तथा श्री मङ्गलनाथ पनि अनादिकालमा स्थापित शिवलिङ्ग रहेका यहाँ विश्वास गरिन्छ । यसका अतिरिक्त बर्दिबास–३ राईमण्डल धार्मिक क्षेत्र अवस्थित श्री इन्द्रेश्वर महादेवको शिवलिङ्ग अघि सत्ययुगमा स्वर्गका राजा इन्द्रले दानवसँगको युद्धमा विजयी बन्ने वरदानका लागि श्री शिवको तपस्या गरेका स्थान मानिन्छ । यी मान्यता र विश्वासले यहाँ महाशिवरात्रि मेला उत्सव खास हुने गरेको छ । बेलपत्र, जल र धतुराको फूलमात्रले भगवान् शङ्कर प्रशन्न हुनुहुने जलेश्वर–१ का सुधीर साह बताउनुहुन्छ ।
मिथिलामा महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै दुई दिनपछि सुरु हुने फागुन शुक्लपक्षभरिको मिथिला माध्यमिकी परिक्रमालाई अलौकिक यात्रा मानिन्छ । फागुन औँशीकै दिन प्रारम्भ भएर फागुन शुक्लपक्षभरि हुने मिथिला माध्यमिकी परिक्रमामा महोत्तरी, धनुषा र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लासहितमा एक सय ३३ किलोमिटर वृत्तभित्र १५ ठाउँमा रात्रिबास गरेर रामसीताका भजन गाउँदै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने पुरानो परम्परा रहँदै आएको छ ।
मिथिला माध्यमिकी परिक्रमाका चार सुरमा भगवान शङ्कर विराजमान रहेर यात्रीहरुको रेखदेख हुने गरेको मैथिल विश्वास गर्छन् । परिक्रमा क्षेत्र चारसुरमा पूर्वतर्फ भगवान् सदाशिव कल्याणेश्वर, पश्चिममा जलेश्वरनाथ, उत्तरमा क्षिरेश्वरनाथ र दक्षिणमा सतोखरनाथबाट संरक्षित रहेको मटिहानीस्थित श्री लक्ष्मीनारायण मठका सन्त रवीन्द्र दास वैष्णवको भनाई छ ।
अवधकिशोर (श्रीराम) र किशोरीजी (सीताजी) का प्रतिमा राखिएका डोला अघि लगाएर १५ दिन मिथिलाक्षेत्रभित्रका तीर्थस्थलको दर्शन गर्दै नाङ्गा खुट्टाले पैदल हिँडेर गरिने यो यात्रा मिथिलाको महाकुम्भ भनिन्छ । फागुन पूर्णिमाका दिन यो यात्रा सम्पन्न गरेसँगै होलिका दहनको धुरा उडाएर, होलिका राक्षसीको आकृति डढाएर त्यसको खरानी उडाइने चलन छ । त्यसको भोलिपल्ट हिन्दू धर्मावलम्बीले फागु अर्थात् होली पर्व मनाउँदै आएका छन् ।
मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनसहित पाँच रात्री विश्रामस्थल रहँदै आएका छन् । त्यसैगरी धनुषामा छ रात्री विश्राम र भारतको मधुवनी जिल्लामा चार रात्रि विश्रामको परम्परा रहँदै आएको छ ।
नेपाल र भारतका हजारौँ साधुसन्त सहभागी हुने यो मिथिलाको महाकुम्भमा परिक्रमाका यात्रीको बासस्थान, प्राथमिक उपचार, भोजन र आपतकालीन सेवाका लागि रात्रि विश्रामस्थल रहेका ठाउँमा मठमन्दिर व्यवस्थापन, सामाजिक सङ्घसंस्था, स्थानीय तह र व्यक्तिले स्वेच्छिक प्रबन्ध गर्ने गरेका छन् । माध्यमिकी परिक्रमाको संयोजन पछिल्ला दुई दशकयता विभिन्न मठमन्दिर व्यवस्थापनको समन्वयमा बृहत्तर जनकपुर क्षेत्र विकास कोष (परिषद्ले) गर्दै आएको छ ।
मिथिलामा महाशिवरात्रि, मिथिला माध्यमिकी परिक्रमा र होरी (फागु) अन्तरसम्बन्धित मानिन्छन् । महाशिवरात्रि सम्पन्न गरिएसँगै शुरु हुने मिथिला माध्यमिकी परिक्रमा र त्यसको समापन लगत्तै मनाइने होरी पर्व मैथिल संस्कृति, परम्परासँग अभिन्नरुपले जोडिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र
- साढे ४ घण्टामा रिहा भए रेशम चौधरी
- सर्वोच्चले भन्यो - रेशम चौधरीलाई पक्राउ गर्नेबारे लेखिएको पत्र ‘अनधिकृत’
- रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका कर्मचारी पक्राउ, रेशम रिहा
- भाजपाका विदेश विभाग प्रमुख चौथाईवा काठमाडौँमा
- नागरिक उन्मुक्ति र जनमत पार्टीको एकीकरण घोषणा स्थगित
- रेशम चौधरी पक्राउ
- डोटीमा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु ६ जना घाइते
- सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ताको तयारी
- सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी