+

भरतपुर भ्रमण वर्षः आर्थिक विकासमा राजनीतिक सहमति

चितवन । भरतपुर भ्रमण वर्षः आर्थिक विकासका विषयमा राजनीतिक सहमति भएको छ । भ्रमण वर्षउद्घाटनपछि आर्थिक विकासका विषयमा राजनीतिक सहमति भएको हो ।

सरकार र विपक्षमा रहेका प्रमुख दलका नेताहरु एउटै मञ्चमा उभिएर आकाशमा सँगै बेलुन उडाएर सार्वजनिक सरोकारका विषयमा हामीसँगसँगै छौँ भन्ने सन्देश प्रवाह गरेका छन् । एउटै मञ्चमा बसेर नेताहरुले राजनीतिलाई परै राखेर आर्थिक उन्नयनका मुद्दालाई केन्द्रमा राखेर सम्बोधन गर्नु महोत्सवको अर्को महत्वपूर्ण पाटो बन्यो । सबै नेताहरुको सम्बोधनको मुख्य विषय पर्यटन क्षेत्रको विकास र यहाँका पर्यटकीय स्थलहरुको संरक्षण गरेर आर्थिक उपार्जनको बाटोमा लाग्न अभिप्रेरित गर्नु महत्वपूर्ण थियो । भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ केवल भरतपुरको मात्रै रहेन यो देशकै पर्यटक वर्ष जस्तो बन्यो ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरुको उपस्थितिमा भएको महोत्सव उद्घाटन समारोह सभ्य एवं भव्य रह्योे । 

प्रदेश प्रमुखहरु, मुख्यमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्री, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, विदेशी पालिकाका प्रमुखसमेतको उपस्थिति रहेको कार्यक्रमबाट चितवनबासी उत्साहित भए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल लगायत निजी क्षेत्रका उद्योग–व्यापार संस्थाका शीर्ष नेतृत्वले आर्थिक विकास र रोजगारी सृजनाका निम्ति कम्मर कसेर काम गर्न आग्रह गर्नुभयो ।  

भरतपुरका विभिन्न भागबाट नारायणी किनारमा प्रस्तुत झाँकीले आफैमा विविधतामा एकताको सन्देश प्रवाह गरिरहेका थिए । आआफ्नै कला, संस्कृति झल्किने झाँकी टोलटोलबाट निस्केर नारायणी किनार पुगेका थिए । विविध झाँकीका दृश्यले लाग्थ्यो भरतपुरका प्रत्येक घरमा चाडपर्व मनाइरहेका छन् ।  भरतपुरका टोलटोल फूलका गमलाले सजिएका थिए । 

एमाले नेता विजय सुवेदी भरतपुरको यो कार्यक्रमको सहभागितालाई ऐतिहासिक भन्नुहुन्छ । महानगरप्रमुख पदका प्रत्यासि रहनु भएका सुवेदीले सबैले महानगरको समृद्धिका लागि हातेमालो गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘दल विशेष नभनी यहाँको आर्थिक विकासका लागि सबै एक ठाउँमा उभिएको पाइयो ।’ पक्ष–विपक्षी सबै शीर्ष नेता यही आएपछि भरतपुरबासीले यसलाई साझा कार्यक्रम बनाएको उहाँ बताउनुहुन्छ । महानगरपालिकाले स्थानीयदेखि केन्द्रसम्म समन्वय गरेर  भ्रमण वर्षका माध्यमबाट  सकारात्मक सन्देश प्रवाह गरेको उहाँको ठम्म्याइ छ । 
 
नेपाली कांग्रेसका नेता प्रा डा सूर्यकान्त घिमिरे उद्घाटन सत्रको उपस्थितिले नयाँ सन्देश प्रवाह गरेको बताउनुहुन्छ । सबै दलका नेता तथा कार्यकर्ता एक ठाउँमा उभिएर महानगरको यो अभियानलाई साथ दिएको भन्दै उहाँले अबका दिनमा महानगरप्रति पनि थप जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘भरतपुरका अधुरा काम जतिसक्दो छिटो सम्पन्न गरेर ‘भरतपुर राम्रो बनेको छ’ भन्ने सन्देश दिनुपर्छ ।’ 

आर्थिक मन्दीको समयमा सर्वसाधारणको उपस्थितिले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुगेको भन्दै उहाँले महानगरको उद्देश्य पूर्ति भएको बताउनुभयो । भ्रमण वर्षका सन्दर्भमा आयोजना गरिने आगामी कार्यक्रम थप प्रभावकारी बनाउनु पर्नेमा उहाँले सुझाव दिनुभयो ।
 
नेकपा माओवादी केन्द्रका नेता  तथा वरिष्ठ चिकित्सक भोजराज अधिकारी पालिकास्तरको कार्यक्रम भएपनि राष्ट्रिय गौरवको उचाई राख्ने कार्यक्रम बनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘असल योजना नै ५० प्रतिशत सफल हो, यो कार्यक्रम ५० प्रतिशत सफल भइसकेको छ । अब बाँकी काम गरेर भ्रमण वर्षलाई सफल बनाउनुपर्छ ।’

कार्यक्रममा युरोपेली मुलुक माल्टाका प्रतिनिधिको उपस्थितिले अन्तर्राष्ट्रिय जगत्मा पनि चितवनको पर्यटन विकासमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै