
भोजपुर । रामप्रसादराई गाउँपालिका–६ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गङ्गा खोलाको संरक्षण थालिएको छ ।
गोल्मे राज, गोल्मे रानी भिरको काखमा रहेको यो स्थलको संरक्षणमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका हुन् ।
ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहान रहेको यो स्थानमा दर्शन गरेर मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजन आउने स्थानीयवासी राजेन्द्र राईले जानकारी दिनुभयो । देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीयस्थल रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको उहाँको भनाइ छ ।
यहाँको पानीले नुहाएमा सबै खालका छालाको रोग निको हुने तथा कुनै पनि पुण्यकर्ममा चढाउने चलन रहेको उहाँले जानकारी दिनुभयो । यहाँ माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गरेको उहाँको भनाइ छ ।
‘गङ्गा खोला देशले चिन्नुपर्ने ऐतिहासिक धार्मिकस्थल हो’ उहाँले भन्नुभयो, ‘गोल्मेराजा, गोल्मेरानी भिरको काखमा रहेको यो स्थान प्रचारप्रसार तथा संरक्षण अभावमा ओझेल परेको छ । यो स्थानको धेरै विषेशतासँगै पौराणिक महत्व छ । भौगोलिक विकटताका कारण यो क्षेत्रको विकासमा बाधा पुगेको अवस्था छ । राज्यले यस्ता देशका सम्पत्तिको खोजी गरेर संरक्षणमा जोड दिन आवश्यक छ ।’
गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षात्को समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । यो क्षेत्रको विकासका लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उहाँको भनाइ छ ।
वडाले बजेट विनियोजन गरेर आउने भक्तजनलाई लक्षित गरेर धारा निर्माण गरिदएको वडाध्यक्ष आचार्यले बताउनुभयो । यहाँ धेरै संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले राज्यका अन्य निकायसँग पनि हारगुहार गरिएको उहाँले बताउनुभयो । मुख्य रूपमा मुहान भएको स्थानसम्म पुग्ने पदमार्गको आवश्यकता रहेको उहाँको भनाइ छ ।
स्थानीय सरकार, केन्द्र सरकार तथा प्रदेश सरकारले यो स्थानको विकासमा पहलकदमी गर्न आवश्यक रहेको स्थानीयवासी पाण्डव राईले बताउनुभयो । यो क्षेत्रको विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ छ ।
‘गङ्गा खोला एउटा अनौठो र आश्चर्य खालको पवित्र धार्मिकस्थल हो’ उहाँले भन्नुभयो– ‘यो स्थानको स्थलगत अनुगमन गर्दा साँच्चै नै प्रकृतिको अनौठो स्वरुप देख्न सकिन्छ । यहाँको भूबनोटले सबैलाई चकित बनाउँछ । तर यस्तो ठाउँको अहिलेसम्म संरक्षणसँगै प्रचारप्रसार हुनसकेको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै