
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय न्यायिक आयोगसहित सशस्त्र द्वन्द पीडित संलग्न सङ्घसंस्थाले आज आयोजना गरेको ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन’मा उहाँले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार न्याय दिने विषयमा एकमत भएको बताउनुभयो ।
‘सत्य उजागर गरेर न्याय दिलाउन र पीडितलाई न्याय दिने विषयमा दलबीच एकै मत रहेको छ’ पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले भन्नुभयो– ‘शान्ति प्रक्रियाको मर्मअनुसार पीडितलाई न्याय र पीडकलाई सजाय दिने विषयमा हामी प्रष्ट छौँ ।’
उहाँले सङ्क्रमणकालीन दुवै आयोगमा पदाधिकारी छनोट गर्न सरकारले सिफारिस अघि बढाइसकेकाले पदाधिकारी विश्वसनीय र सक्षम भएमा द्वन्द्वपीडितले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीच सैद्धान्तिक रूपमा अन्य विषयमा विमति भएपनि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा सबै दल एक भएको बताउनुभयो ।
उहाँले द्वन्द्वकालीन पुराना घटनालाई बिर्सिएर क्षमादान दिने विषय उठेको भएपनि पीडितलाई न्यायको अनुभूति नभएसम्म शान्तिप्रक्रिया सफल भएको मान्न नसकिने बताउनुभयो । ‘अहिले पनि दलबीच तमाम विवादित विषय छन्’ दाहालले भन्नुभयो– ‘सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु(याउने विषयमा सबै दलको एक मत छ ।’
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तन भएपनि विस्तृत शान्ति सम्झौताअनुसार पीडितले न्याय पाउन ढिलाइ भएको बताउनुभयो । द्वन्द्व प्रभावित मुलुक भनेर रातो चिन्ह लगाएको हेर्न मन नभएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियालाई छिटो निष्कर्षमा पु(याउनुपर्नेमा जोड दिनुभयो ।
द्वन्द्व पीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले शान्ति प्रक्रियाको काम पूरा गर्न सबै राजनीतिक दलको ध्यान जानुपर्ने र पदाधिकारी छनोट प्रक्रिया पारदर्शी, स्वतन्त्र हुनुपर्ने माग गर्नुभयो ।
अन्तरराष्ट्रिय न्यायिक आयोगका वरिष्ठ कानुनी सल्लाहकार मन्दिरा शर्माले विश्वसनीय आयोग गठन गरी पीडितलाई न्याय दिनुपर्ने र संशोधित कानुनमा नसमेटिएका विषय व्यवहारमा कार्यान्वयन गरेर जानुपर्ने बताउनुभयो ।
सरकारले दुई आयोगमा पदाधिकारी छनोट गर्न यही चैत १२ गते पुरानै सिफारिस समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि, सिफारिस समितिले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी छनोट गर्न नसकेपछि कानुनअनुसार स्वतः निष्क्रिय भएको थियो । दुई महिनाभित्र सिफारिस समितिले काम पूरा गर्नुपर्ने कानुनी व्यवस्था छ ।
अहिले दुवै आयोग पदाधिकारी विहीन छन् । सम्मेलनमा देशभरका १६० द्वन्द्वपीडितको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै