
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा मन्त्री यादवले जापानका लगानीकर्तालाई नेपालमा लगानीका लागि थप प्रोत्साहन गर्न आग्रह गर्नुभएको थियो । मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको बताउँदै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘नेपाल सरकारले विदेशी लगानीकर्ताको लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन हामी कटिबद्ध छौँ ।’
मन्त्री यादवले नेपाल–जापान सम्बन्ध ऐतिहासिक रूपमा प्रगाढ रहेको उल्लेख गर्दै सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध यतिखेर थप बलियो र मैत्रीपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘भूकम्पलगायत विभिन्न प्राकृतिक विपद्मा जापानी जनता, सरकार, गैरसरकारी संस्था र विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति नेपाल सरकार तथा नेपाली जनता आभारी छन् । नेपालले सदैव जापानसँगको आपसी हित र सहकार्यलाई उच्च महत्तव दिँदै आएको छ ।’
मन्त्री यादवले जापान सरकारले विगतदेखि नेपालका खानेपानी परियोजनामा महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै सन् १९७६ देखि पाल्पाको तानसेन खानेपानी परियोजना, सन् १९९३ मा काठमाडौँको महाङ्कालचौरमा पानी प्रशोधन केन्द्र निर्माण तथा सन् २०१८ मा मेलम्ची खानेपानी आयोजनाअन्तर्गत प्रशोधन केन्द्र निर्माणमा जापानी अनुदान रहेको जानकारी गराउनुभयो । त्यस्तै, पोखरा महानगरपालिकाको खानेपानी सुधार परियोजना तथा हालै विराटनगर महानगरपालिकामा सञ्चालित खानेपानी सुधार कार्यमा पनि जापान सरकारको सहयोग रहेको भन्दै उहाँले जापान सरकारलाई विशेष धन्यवाद दिनुभएको थियो ।
त्यस अवसरमा राजदूत तोरूले जापान सरकार नेपालमा विगतदेखि विभिन्न विकासका परियोजनामा संलग्न रहँदै आएको बताउँदै आगामी दिनमा पनि नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले हामी नेपाल सरकारसँग सहकार्य गर्दै जानेछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै