
तनहुँ । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ ।
समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा पर्यटकीय गतिविधि बढाउन र यहाँका स्थानीयवासीको आर्थिकस्तर उकास्ने उद्देश्यसहित यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो ।
आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यहाँ आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गरी धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेर काम अगाडि बढाइएको जानकारी दिनुभयो । ‘हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ’ उहाँले भन्नुभयो– ‘गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकास योजना अगाडि बढाएका छौँ । यसमा सङ्घीय, प्रदेश, स्थानीय तहको सरकारको साझेदारी, आमजनताको सहभागिता र निजी क्षेत्रको लगानी अपेक्षा गरेका छौँ ।’
अध्यक्ष चुमानले छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल टावर नभएका जस्ता समस्या क्रमशः निराकरण हुँदै जाने र सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको बताउनुभयो । यस्तै, खानेपानीको बजेट स्रोत सुनिश्चित भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर ठेक्का लगाउने प्रक्रियामा रहेको छ । अध्यक्ष चुमानले भन्नुभयो– ‘वडा नम्बर ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केश्वरी खानेपानी आयोजना अगाडि बढाउन डिपिआर भइरहेको छ । त्यो काम सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ ।’ खानेपानीका लागि करिब १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यस्तै, छिम्केश्वरीमा टेलिकमको टावर नहुँदा सञ्चार सम्पर्कमा समस्या हुँदै आएकाले त्यसको समाधानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग र विद्युत् पहुँच नपुग्दा सोलारबाट काम चलाउनुपर्ने अवस्था अन्त्यका लागि विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको जनाइएको छ । यहाँ पर्यटकीय क्रियाकलाप बढाउन मन्दिर नजिकै बूढीमाईमा ध्यानगृह बनाउने लक्ष्यसमेत राखिएको छ । छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले यी सबै योजना सम्पन्न भएमा हाल वार्षिक रूपमा एक लाख पर्यटक आउने गरेकामा त्यो सङ्ख्या निकै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
यहाँ रहेको छिम्केश्वरी मन्दिर गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीको पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई यसै क्षेत्रमा अवस्थित छन्भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । यसका साथै यस स्थानबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायत हिमाल हेर्न सकिन्छ ।
यस मन्दिरमा पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ । आर्थिक वर्ष ०७५÷७६ मा ४१ लाख ६३ हजार ७ सय ६ रुपैयाँको लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न गरिएको थियो भने आर्थिक वर्ष ०७६७७ मा ३५ लाख ९९ हजार १ सय ४१ रुपैयाँको लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘आई लभ यू केपी बा’ भन्ने मान्छे खोज्दै हिड्नु देशकै लागि दुर्भाग्य : भुसाल
- कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने
- अझै २०-२५ वर्ष म बिनाको एमाले कसैले कल्पना नगरे हुन्छ: ओली
- चाबी लगाएर आन्दोलनमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन
- विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त
- परीक्षा संचालन गर्न कर्मचारी सहभागी नहुने ट्रेड युनियनको संकेत
- कर्मचारी खटाएर परीक्षा लिएमा कापी जाँच नगर्ने शिक्षक महासंघको घोषणा
- आन्दोलन अझै चर्काउन शिक्षकहरुलाई प्रचण्डको सुझाव
- सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
- आज पनि सडकमा ‘नाच्दैगाउँदै’ शिक्षकहरु