+

‘प्राविधिक जनशक्ति उत्पादनको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार’

काठमाडौँ । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौँ टेक्निकल स्कुल (केटिएस)  सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्तो स्कुल सञ्चालन गरिएको हो । 


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा आज आयोजित समारोहमा स्कुल शुभारम्भ गर्नुभयो । त्यस अवसरमा उहाँले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्नसकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

‘प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा छ, सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ’ मन्त्री भण्डारीले भन्नुभयो । स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अगाडि बढ्ने उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले  स्कुल सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताउनुभयो । उहाँले यस्तो स्कुलले हजारौँ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्कुल स्थापना गरिएको हो । यस स्कुलले विशेषगरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ’ उहाँले भन्नुभयो । 

काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यमा स्कुलले सहयोग गर्ने बताउनुभयो । उहाँले स्कुलले युवालाई विश्वस्तरीय तालीम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो । केटिएसले आफ्ना विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारसँग पनि सहकार्य गर्ने अध्यक्ष पौडेलको भनाइ छ । 

त्यस अवसरमा सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो । स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङ लगायत रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम सञ्चालन गर्नेछ । 

स्कुलले आगामी एक दशकमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट