
दार्चुला । गाउँमा भाइरल ज्वरोका बिरामी बढेसँगै दार्चुलाका स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्न थालेका छन् । यहाँको मालिकार्जुन र दुहुँ गाउँपालिकाका स्वास्थ्यकर्मीले गाउँबस्तीमै पुगेर उपचार तथा परामर्श सेवा थालेका हुन् ।
मालिकार्जुन गाउँपालिका–५ मल्तडीमा भाइरल ज्वरो फैलिएसँगै स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गरेका छन् । दलितको बाहुल्य रहेको मल्तडी बस्तीमा पस्ती आधारभूत अस्पतालका डा निराजन बोहरा नेतृत्वको टोलीले उपचार गरेको हो । उनीहरूले बिरामीलाई परामर्श सेवा, स्वास्थ्य जाँच गरेका छन् ।
मौसममा आएको परिवर्तनले अहिले बिरामी गाउँभरि बढेको पाइएपछि गाउमै उपचार थालिएको पस्ती आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक रामसिंह खत्रीले जानकारी दिनुभयो । ‘तीन–चार दिनदेखि गाउँमा भाइरल फैलिएको खबर आएसँगै बस्तीमै उपचार गर्न गएका हौँ’ उहाँले भन्नुभयो– ‘गाउँभरिका एक सय २२ जनाको स्वास्थ्य जाँच गरिएको छ ।’ बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, हातखुट्टा दुख्नेलगायत लक्षण देखिएको उहाँले बताउनुभयो । बिरामीलाई गाउँमै उपचारसँगै औषधि वितरण गरिएको छ । वडामा डाँडाकोट स्वास्थ्यचौकी भए पनि पालिका तहबाट विशेषज्ञसहितको उपचार गरिएको हो ।
यसैगरी दुहुँ गाउँपालिका–२ ले गाउँमा एक सातादेखि भाइरल ज्वरो फैलिएको भन्दै बस्तीस्तरमै सेवा दिने भएको छ । हिकिला स्वास्थ्यचौकीले चैत ७ देखि चैत १२ गतेसम्म सबै बस्तीमा पुगेर जाँच, परामर्श सेवा तथा उपचार र औषधि वितरण गर्ने स्वास्थ्यचौकी प्रमुख जनस्वास्थ्य निरीक्षक मोहनसिंह धामीले जानकारी दिनुभयो ।
अहिले जिल्लाका विभिन्न क्षेत्रमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको चाप जिल्ला अस्पतालमा समेत बढेको डा सञ्जीव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– ‘दिनहुँ भाइरल ज्वरोका बिरामी बढेका छन् । ठाउँ अभावमा उपचार गराउनै समस्या हुने अवस्था आएको छ ।’
जिल्ला अस्पताल दार्चुलामा दैनिक दुई दर्जनभन्दा बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । यसबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् ।
बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त मात्रामा पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै