+

इरानका नेताद्वारा क्षेप्यास्त्र सीमा, क्षेत्रीय विषयमा वार्ता अस्वीकार

काठमाडौँ । इरानका सर्वोच्च नेताद्वारा क्षेप्यास्त्र सीमा, क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार गर्नुभएको छ । 


इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी क्षेप्यास्त्रको सीमा र यस क्षेत्रमा इरानको प्रभावमा प्रतिबन्ध लगाउने उद्देश्यमा केन्द्रित हुने भन्दै दुई देशबीच वार्ताका लागि अमेरिकी प्रयासलाई अस्वीकार गर्नुभएको हो ।

शनिबार अधिकारीहरूको एक समूहलाई सम्बोधन गर्दै उहाँले अमेरिकाको नाम उल्लेख गर्नुभएन तर ‘धम्की दिने सरकार’ वार्ताका लागि आफ्नो प्रयासमा दृढ रहिरहेको बताउनुभयो । ‘उनीहरूको वार्ताको उद्देश्य समस्याहरू समाधान गर्नु होइन, यो, हामी जे चाहन्छौँ त्यो टेबलको विपरीत पक्षमा बसेको अर्को पक्षमाथि थोप्न कुरा गरौँ भन्ने हो’ उहाँले भन्नुभयो ।

खामेनीको यो टिप्पणी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीलाई तेहरानको तीव्र गतिमा अघि बढिरहेको आणविक कार्यक्रमलाई नियन्त्रण गर्न र आफ्नो पहिलो कार्यकालमा अमेरिकाले फिर्ता लिएको आणविक सम्झौता प्रतिस्थापन गर्न नयाँ सम्झौताको खोजीमा पत्र पठाएको स्वीकार गरेको एक दिनपछि आएको हो ।

अमेरिकी मागहरू सैन्य र इरानको क्षेत्रीय प्रभावसँग सम्बन्धित हुने खामेनीले बताउनुभयो । ‘ती रक्षा क्षमता, देशको अन्तर्राष्ट्रिय क्षमताको बारेमा हुनेछन् । (उनीहरूले इरानलाई) केही (निश्चित) काम नगर्न, केही निश्चित मानिसहरूलाई नभेट्न, कुनै निश्चित स्थानमा नजान, केही वस्तु उत्पादन नगर्न, तपाईंको क्षेप्यास्त्र सीमा निश्चित दूरीभन्दा बढी हुनुहुँदैन भनेर आग्रह गर्नेछन् । के कसैले यी कुरा स्वीकार गर्न सम्भव छ ?’ उहाँले भन्नुभयो ।

सबै राज्य मामिलामा अन्तिम कुरा गर्ने खामेनीले त्यस्ता वार्ताले इरान र पश्चिमबीचका समस्या समाधान नगर्ने बताउनुभयो । उहाँले कुनै व्यक्ति वा देशको नाम लिनुभएन तर वार्ताको दबाबले जनमतमा इरानमाथि दबाब सिर्जना गरेको बताउनुभयो । ‘यो वार्ता होइन । यो आदेश र थोपर्ने काम हो’ उहाँले भन्नुभयो ।

शुक्रबार ओभल अफिसमा पत्रकारहरूलाई दिएको टिप्पणीमा ट्रम्पले पत्रको बारेमा प्रत्यक्ष रूपमा उल्लेख गर्नुभएन तर उहाँले सम्भावित सैन्य कारबाहीतर्फ सङ्केत गर्दै भन्नुभयो– ‘हामीसँग इरानसँग यस्तो अवस्था छ, केही चाँडै हुन गइरहेको छ । धेरै चाँडै ।’

उहाँको प्रस्ताव इजरायल र अमेरिका दुवैले इरानलाई आणविक हतियार हासिल गर्न कहिल्यै नदिने चेतावनी दिएको बेला आएको छ । तेहरानले लगभग हतियारको ग्रेडको स्तरमा युरेनियम समृद्ध गरिरहेको बेला सैन्य सङ्घर्षको डर बढाएको छ – यो आणविक हतियारले सुसज्जित राष्ट्रले मात्र गर्छन् ।

तेहरानले लामो समयदेखि आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि हो भन्दै आएको छ । यद्यपि इरानका अधिकारीहरूले अमेरिकासँग प्रतिबन्ध र इजरायलसँग गाजा पट्टीमा हमासविरुद्धको युद्धमा अस्थिर युद्धविराम कायम रहेको बेला तनाव उच्च रहेको अवस्थामा बम बनाउने धम्की दिइरहेका छन् ।

इरानको हतियार–ग्रेड युरेनियमको द्रुत उत्पादनले ट्रम्पमाथि थप दबाब दिन्छ । उहाँले बारम्बार आफू इरानसँग वार्ताका लागि खुला रहेको बताउँदै आउनुभएको छ । यद्यपि उहाँले आफ्नो पुनः लागू गरिएको ‘अधिकतम दबाब’ नीतिको एक हिस्साका रूपमा इरानको तेल बिक्रीलाई बढ्दो रूपमा लक्षित गर्दै प्रतिबन्ध लगाइरहनुभएको छ ।

अगस्टको अन्त्यमा ‘शत्रु’ सँग संलग्न हुन ‘कुनै हानी छैन’ भन्दै खामेनीले एक भाषणमा अमेरिकासँग सम्भावित वार्ताको ढोका खोल्नुभएको थियो । यद्यपि ट्रम्पले तेहरानसँग आणविक वार्ता गर्ने कुरा उठाएपछि खामेनीले अमेरिकासँगको वार्ता ‘बुद्धिमानी, विवेकपूर्ण वा सम्मानजनक छैन’ भन्दै त्यसलाई कम गर्नुभएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै