
रामेछाप । आज यहाँका माझी समुदायले लदी (कोशी) पूजा गरेका छन् । लदी पूजाका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
माझी समुदायको पहिचानसँग जोडिएको यो पूजाका अवसरमा तामाकोशी, सुनकोशी तथा अन्य नदी किनारमा पूजाआजा गरिएको छ । नेपाल माझी विद्यार्थी सङ्घले मन्थलीमा खुल्ला माझी नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
माझी समुदायको महान् पर्वका रुपमा लिइने लदी पूजा हरेक वर्ष नदी किनारहरुमा गर्ने गरिन्छ । नदी आफूहरुको जीवन पद्धतिसँग जोडिएकाले परापूर्वकालदेखि पूजा गरिँदै आएको मन्थली नगरपालिका–८ गाईखुराका बालकृष्ण माझीले बताउनुभयो ।
शुरुमा कोशी तथा ठूला नदीहरुहरुमा डुङ्गामा जङ्घार तार्ने र माछा मार्ने पेसा भएकाले पनि माझी समुदायको लदी पूजासँग विशेष सम्बन्ध छ । ‘परापूर्वकालमा माझीले राजालाई डुङ्गा तार्ने क्रममा कोशीको बीचमा डुङ्गा अड्किएपछि राजा डुब्ने डरले आत्तिँदै बल पुकारा माग्दा लदी पूजा गर्नु र त्यसको प्रसाद कसैलाई नदिई आफैँले मात्र खानु भनी माझीलाई भनेपछि माझीले त्यो अनुसार गरी डुङ्गा पार लगाएको किम्बदन्ती छ’ स्थानीय बालकृष्ण माझीले भन्नुभयो– ‘त्यही भएर यो पूजामा नदीमा डुङ्गा, त्यसको बहना, माछा मार्ने जाल, घोल्याङ, माछा हाल्ने पेरुङ्गो, एकै ठाउँमा राखेर देवता स्थापना गरी कोशी किनारमा परेवा, हाँस, कुखुरा र पाठीको बलि दिई पूजाआजा गर्ने चलन छ ।’
कोशी र माझीबीच मामा भान्जाको नाता रहेको पनि बताइन्छ । मामाले भान्जालाई जुनसुकै काममा पनि सहयोग गरून् भनेर पनि यो पूजा गरिएको माझी समुदायका बूढापाकाहरु बताउँछन् । यस पर्वका अवसरमा मन्थली नगरपालिकाले माझी समुदायको बस्ती रहेको वडा नं १,२,६,७, र ८ नं वडामा आज सार्वजनिक बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै