
नवलपुर । नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थाल्नुभएको छ ।
उमेरले ६१ वर्ष पुग्नुभएकी धनिसराले घर खर्चमा मद्दत पुगोस् भनेर केही आम्दानी हुने आशमा दुनाटपरी बनाउन शुरु गर्नुभएको हो । वनमा खेर गएको सालको पातबाट जीविकोपार्जनका लागि दुनाटपरीका लागि लाफा बनाएर बिक्री गर्न थालेको उहाँले बताउनुभयो ।
‘आफूले जानेको सीपलाई घरमा नै बसेर दुईरचार रुपैयाँ आम्दानी हुन्छ कि भन्ने आशा हो, वृद्ध उमेर भए पनि घर खर्च चलाउन छोराबुहारीलाई सहयोग हुन्छ कि भन्ने लागेर दुःख गर्न मन लागेको’ उहाँले भन्नुभयो– ‘आफ्नो औषधिमुलो गर्न भए पनि खर्च पुग्छ कि भनेर नजिकैको वनबाट पात ल्याएर दुनाटपरी गाँस्ने गरेको छु ।’
बगुवनकै केसरी सिञ्जाली पनि हिजोआज सालको पातबाट दुनाटपरी गाँस्न थाल्नुभएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले नुनतेलको जोहो गर्न भए पनि दुनाटपरी बनाउन शुरु गरेको केसरीले बताउनुभयो । ‘घरको आर्थिक अवस्था त्यस्तै छ, ४ जना छोराछोरी छन् पाल्नै परो, श्रीमानको मात्रै कमाइले कति हुन्छ र रु बचेको समयमा काम गरेर केही रकम जोड्न सकिन्छ कि भनेर शुरु गरेको हो’ उहाँले भन्नुभयो ।
चारैतिरबाट नदी र जङ्गलले घेरिएको बगुवन गाउँमा आर्थिक उपार्जनको दिगो स्रोत नभएपछि स्थानीय महिला सालको पातबाट जीविकोपार्जनको उपाय खोज्न थालेका हुन् । ज्याला मजदुरी र कृषि कर्मबाट फुर्सदको समयलाई सदुपयोग गरी महिलाले घरायसी कामकाजसँगै दुनाटपरी बनाउने गरेका छन् ।
यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् ।वनबाट ल्याएको सालको पातबाट लाफा बनाएर केही दिन घाममा सुकाएपछि बिक्री गर्ने गरिएको छ । एक सयवटा टपरीको एक मुठा हुन्छ । एक मुठाको एक सय ५० रुपैया प्राप्त हुने स्थानीयको भनाइ छ ।
आयआर्जनको अन्य विकल्प नभएपछि टपरी बनाएर भए पनि केही आम्दानीको उपाय खोजिएको दिनुढेगा मगरले बताउनुभयो । भौगोलिक अवस्थितिका आधारमा विकट मानिएको बस्तीमा सरकारले केही अवसर सृजना गर्नुपर्ने दिनुको सुझाव छ । ‘हामीलाई केही सीपसँगै काम दिए हुन्थ्यो भन्ने लाग्छ, नारायणी नदीको डुबान, चितवन राष्ट्रिय निकुञ्जका जनावरको आक्रमण डरले गर्दा हामी सधैँ पीडित भएका छौँ’ उहाँले भन्नुभयो ।
वनजङ्गलमा खेर गएको पातसँगसँगै पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्ने कार्यक्रममा जोडेर स्थानीय महिलालाई रोजगारी प्रदान गरिने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
विनयी जैविक मल उत्पादन उद्योग सञ्चालन गरिएकाले स्थानीयलाई सहज रोजगारी सृजना हुने अध्यक्ष गिरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै