
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान शुरु गरिएको छ ।
पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुनलागेको हो । जङ्गली जनावर प्रभावित वडाका रूपमा परिचित वडा नम्बर ८ र वडा नम्बर १२ मा मेसवायर जडान भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताउनुभयो । यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेशले आधा–आधा रकम व्यहोर्ने गरी लागत साझेदारी गरेका छन् ।
प्रदेश सरकारको समपूरक अनुदान ७५ लाख र नगरपालिकाको ७५ लाख गरी एक करोड ५० हजारमध्ये ९५ लाख रुपैयाँमा मेसवायर जडानका लागि पशुपति एण्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता भएको शाखा प्रमुख धामीले बताउनुभयो ।
उहाँका अनुसार मेसवायर जडानको हालसम्म दुवै वडामा गरी ५१ प्रतिशत कार्य प्रगति भएको छ । वडा नं १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार नौ सय मिटर र वडा नम्बर ८ मा वडा कार्यालयबाट दक्षिणतर्फ गरी दुई हजार नौ सय मिटर मेसवायर जडान हुने भएको छ ।
‘वडा नम्बर १२ मा मेसवायर जडान ६० प्रतिशत जति सकिएको छ”, उहाँले भन्नुभयो– ‘दुई किलोमिटर मेसवायर जडान भइसकेको छ, नौ सय मिटरमात्र जडान गर्न बाँकी छ, वडा नम्बर ८ मा एक किलोमिटर जति मेसवायर जडानको कार्य पूरा भएको छभने एक किलोमिटर नौ सय मिटर मेसवायर जडान हुन बाँकी छ ।’ दुई महिनाभित्र मेसवायर जडानको काम पूरा गर्ने लक्ष्य लिइएको छ ।
‘हात्ती, निलगाई, चित्तल, बँदेललगायत जङ्गली जनावरले खेतबारीमा पसेर लगाएको बालीनाली सबै सखाप पार्दै आएका छन्’ वडा नम्बर १२ का बासिन्दा गेंदुराम रानाले भन्नुभयो– ‘मेसवायर जडानकार्यले जङ्गली जनावरको आतङ्क रोकिनेमा विश्वस्त छौँ ।’ वडाध्यक्ष नबलसिंह रानाले हात्तीले यस क्षेत्रमा स्थानीय किसानको बालीनालीमा क्षति पुर्याउनुका साथै मानवीय र भौतिक क्षति प्रत्येक वर्ष निम्त्याउँदै आएकाले त्यसलाई रोक्न मेसवायर जडान भइरहेको बताउनुभयो ।
मेवायर जडानकार्यले हात्ती नियन्त्रण हुनुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा हिंस्रक बाघ, चितुवालगायत जनावरले किसानले पालेका घरपालुवा जनावरमा पुर्याउँदै आएको क्षति कम गर्नमा सघाउ पुग्ने उहाँले बताउनुभयो । वडा नम्बर ८ मा हात्ती र जङ्गली बँदेलले किसानलाई बर्सेनि निकै हैरानी दिँदै आएकामा त्यसलाई रोक्न मेसवायर जडानले सहयोग पुर्याउने वडाध्यक्ष बहादुरसिंह महरा बताउनुहुन्छ ।
यसअघि जङ्गली जनावरलाई बस्तीमा छिर्नबाट रोक्नका लागि नगरपालिको ठाउँठाउँमा साइरन जडान गर्नुका साथै उज्यालोका लागि बत्ती जडान गरेको छ । नगरपालिकाको वडा नम्बर ७ र ६ मा विभिन्न दातृ निकायको सहयोगमा मेसवायर जडान गरिएको छ भने वडा नम्बर ५, ४, ३, २ र १ मा मेसवायर जडानका लागि कार्य अगाडि बढाइने बताइएको छ ।
नगरपालिकाको उत्तर, दक्षिण, पश्चिमतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको छभने पूर्वतर्फ लालझाडी संरक्षण क्षेत्र र सामुदायिक वनसँग सीमा जोडिएको छ ।
चारैतिर ठुल्ठूला वनको सीमा जोडिँदा नगरपालिकाका सबै वडा जङ्गली जनावरबाट प्रभावित हुँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै