
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्न माग गरेको छ । एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो र रोजगारीमुखी बनाउन औद्योगिक क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्न माग गरेको हो ।
पार्टीको सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले युवा जनशक्ति विदेश पलायन हुनेक्रम बढेकाले मुलुकमा कृषिको संरक्षण र उद्योगको विकास गरी रोजगारीको उपयुक्त अवसर सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकमा गरिब जनताको जीवन कष्टकर हुँदै गएकाले जनजीविका सुधार गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र आयआर्जन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो ।
बैठकले लाखौँ जनताको सहकारीमा राखिएको बचत फिर्ता गर्न सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीलगायत वित्तीय क्षेत्रका भ्रष्टलाई नियन्त्रणमा लिइ अविलम्ब कडाभन्दा कडा कारबाहीको माग गरेको छ । वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दालाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको महासचिव भुसालले जानकारी दिनुभयो ।
भारतको ओडिसा राज्यको कलिङ्गा इन्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआइआइटी०मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । बैठकले मृतकप्रति श्रद्धाञ्जली तथा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र भारतमा नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
सबै किसानको दूध र उखुको भुक्तानी तत्कालै गर्न बैठकले माग गर्दै जाजरकोटसहित पश्चिमका भूकम्पपीडित जनताको आवास पुनर्निर्माण प्रक्रिया अगाडि बढाउन, गत असोज १०–१२ को भारी वर्षाका कारण भएका भौतिक क्षतिको पुनःनिर्माण गरी बिपी राजमार्ग लगायत स्थानमा यातायात पुनःसञ्चालन गर्न आग्रह गरेको महासचिव भुसालले उल्लेख गर्नुभयो ।
बैठकले संसदमा छलफलमा रहेका विद्यालय शिक्षा विधेयक र निजामती सेवासम्बन्धी विधेयककाबारेमा विज्ञसँग छलफल गरी ऐन निर्माणको प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षसँग आह्वान गरेको छ ।
फागुन ९ र १० गते बसेको पार्टीको दोस्रो पूर्ण बैठकमा केन्द्रीय कमिटीका दुई सय ९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियम, विभिन्न निर्देशिका, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तत्कालिक कार्ययोजना र पार्टीका तत्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा