+

मारिएका हिजबुल्लाह नेताको अन्त्येष्टिमा दशौं हजार सहभागी

काठमाडौँ । लेबनानी इस्लामिक लडाकू समूह हिजबुल्लाहको इजरायली आक्रमणमा मारिएका नेता हसन नसरल्लाहको अन्त्येष्टि आइतबार गरिएको छ । 


बेरुतको बाहिरी इलाकामा रहेको एक रङ्गशालामा हजारौँ मानिस कालो पहिरनमा सजिएर आफ्ना नेताप्रति शोक व्यक्त गरेका छन् ।सहभागीमध्ये केहीले हिजबुल्लाहको झण्डा फहराइरहेका वा समूहका मारिएका नेता हसन नसरल्लाहको तस्वीर बोकेका देख्न सकिन्छ ।

अन्त्येष्टि समारोहमा दशौँ हजार मानिस सहभागी भएका सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा प्रत्यक्ष प्रशारण गरिएको स्वदेशी तथा विदेशी सञ्चारमाध्यमले देखाएका छन् ।

तीन दशकभन्दा बढी समयदेखि लेबनानी आन्दोलनको नेतृत्व गरेका चमत्कारिक हिजबुल्लाह नेता नसरल्लाको हत्याले इरान समर्थित समूहको लडाकु शक्तिका रूपमा प्रतिष्ठामा ठूलो धक्का पुगेको छ ।

हिजबुल्लाहले लेबनानका उच्च अधिकारीलाई निमन्त्रणा गरेको छ, जसमा इरानी संसदका सभामुख मोहम्मद बघर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची पनि उपस्थित हुनुहुन्थ्यो ।

अराघचीले बेरुतबाट एक भाषणमा मारिएका नेताहरूलाई ‘प्रतिरोधका दुई नायक’ को रूपमा वर्णन गरे र ‘प्रतिरोधको मार्ग जारी रहने’ प्रतिज्ञा गर्नुभयो ।

दशकौँदेखि देशको राजनीतिमा पनि प्रमुख भूमिका खेलेको हिजबुल्लाहले लामो समयदेखि सामाजिक र आर्थिक सेवा प्रदान गरेर देशको बहुसङ्ख्यक शिया मुस्लिम समुदायमा समर्थन आधार पाएको छ।

गत सेप्टेम्बरमा हिजबुल्लाहको दक्षिणी बेरुत किल्लामा इजरायली आक्रमणमा नसरल्लाहको मृत्यु भएपछि सुरक्षाका कारण ढिलाइ भएको समारोहस्थलमा लेबनान र बाहिरका धेरै पुरुष, महिला र केटाकेटीहरू कठोर जाडोमा पैदल हिँडेका देखिन्थे । तीमध्ये एक थिए ५५ वर्षीय उम महदी पनि ‘अन्तिम पटक नसरल्लाहलाई भेट्न र उहाँको अन्त्येष्टिमा सामेल हुन आएका महमीले हिजबुल्लाह नेता नसरल्लाहको मृत्युले आफू स्तब्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘निःसन्देह, हामी दुःखी भएका छौँ ।’

उहाँले भन्नुभयो– ‘सबै कुरा त्यागेका सय्यदका लागि हामीले कमसेकम यही गर्न (अन्त्येष्टिमा सहभागी हुन) सक्छौँ । यो नै हाम्रो उहाँप्रतिको इमान्दार सम्मान हो ।’

भीड जम्मा हुनासाथ लेबनानको सरकारी सञ्चारमाध्यमले लेबनानको दक्षिणी क्षेत्रको सीमाबाट करिब २० किलोमिटर टाढा रहेको क्षेत्रमा इजरायली आक्रमण भएको जनाएको छ ।
 
यसैबीच, इजरायली सेनाले दक्षिणी लेबनानमा ‘इजरायली नागरिकका लागि आसन्न खतरा उत्पन्न गर्ने थुप्रै रकेट लन्चर’मा आक्रमण गरेको जनाएको छ ।
 
गत नोभेम्बर २७ मा हिजबुल्लाहसँग भएको युद्धविराम सम्झौतापछि इजरायलले लेबनानमा धेरै पटक आक्रमण गरिसकेको छ ।
 
दक्षिण बेरुतका भित्ता र पुलमा नसरल्लाहका उत्तराधिकारी हाशेम सफिद्दीनको विशाल चित्र राखिएको छ । उहाँपनि इजरायलको अर्को हवाई आक्रमणमा मारिनुभएको थियो ।

करिब ५० हजार दर्शक क्षमता रहेको यो रङ्गशालामा हिजबुल्लाहका आयोजकले मैदान र बाहिर दशौँ हजार अतिरिक्त सिटको व्यवस्था गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट