+

‘भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सहजीकरण गर्छ’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले समन्वय  र सहजीकरण गर्ने बताउनुभएको छ । 


भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रदेश सरकारले प्रभावकारी सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।

‘आयोगलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । त्यो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा सफल हुनुहोस’ मुख्यमन्त्री आचार्यले भन्नुभयो– ‘प्रदेश सरकारले संघ र स्थानीय सरकार, भूमि आयोग सबैसँग प्रभावकारी सहजीकरण गर्छ । सहजीकरणमा कुनै कमी आउन दिइने छैन ।’

परिणाममुखी काम आवश्यक रहेको उल्लेख गर्दै उहाँले समस्या समाधानका लागि अहोरात्र खट्न आग्रह गर्नुभयो । ‘छिटो परिणाम दिन जरुरी छ, आयोगलाई सरकारले पूर्ण साथ र सहयोग गर्छ’ उहाँले भन्नुभयो ।

त्यसअवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन सुकुम्बासीलाई न्याय दिन गठन भएको यो अन्तिम संवैधानिक आयोग भएको र यसले भूमिसम्बन्धी सबैखाले समस्या समाधान गर्ने बताउनुभयो । 

‘यो अन्तिम आयोग हुनेछ । विगतमा पटक–पटक आयोग गठन भए पनि समस्या समाधान हुन सकेको थिएन’  उहाँले भन्नुभयो– ‘अब न त कोही जग्गाको मामिलामा अन्यायमा पर्छ, न त कोही भूमिहीन नै रहन्छ । हामी एकपटकका लागि देखिएका सबै समस्या समाधान गर्छौं ।’ 

भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिको समस्या स्थायी रूपमा समाधान गर्न संवैधानिक अधिकार प्राप्त आयोग बनेको भनाइ राख्नुभयो । ‘भूमिका कारण जनता विभेदमा परेका छन् । यो आयोग संवैधानिक आयोग हो, जसले भूमि समस्या समाधान गर्छ’ उहाँले भन्नुभयो, ‘कुनै पनि नागरिक सम्पत्तिविहीन हुने छैन । संविधानले आवासको हक ग्यारेन्टी गरेको छ ।’

लुम्बिनी प्रदेशमा दुई लाख ९६ हजार निवेदन सङ्कलन भएका छन् । जसका आधारमा आयोगले आफ्नो काम अघि बढाइरहेको सो अवसरमा जानकारी गराइयो । 

प्रदेशका रुपन्देही, दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा भूमिसम्बन्धी समस्या छ । साथै, देशभर हालसम्म १० लाख ९७ हजार निवेदन सङ्कलन भइसकेका छन् । जिल्ला तहमा गठन भएका आयोगका अध्यक्ष, सदस्य तथा सदस्य सचिवलाई एकसाथ अभिमुखीकरण गरिएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विगतमा भूमिसम्बन्धी समस्या समाधान हुन नसकेको बताउँदै, वर्तमान सरकारले समाधानका लागि ठोस कदम चालेको उल्लेख गर्नुभयो । 

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वास्तविक भूमिहीन तथा सुकुम्बासीले न्याय पाउनुपर्ने बताउनुभयो । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले जनताको मूल मर्मसँग जोडिएर सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट