
काठमाडौँ । अमेरिका र रुसका उच्च स्तरीय कूटनीतिज्ञहरू मङ्गलबार साउदी अरबमा भेट्दैछन् । त्यहाँ उनीहरूका बिग्रेका सम्बन्ध पुनःस्थापित गर्ने र युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको शुरुवात गर्ने वार्ता हुँदैछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि दुई देशबीचको पहिलो उच्चस्तरीय बैठकबाट कुनै ठोस परिणाम निस्किने सम्भावनालाई दुवै पक्षले कम आँकेका छन् ।तैपनि वार्ता भइरहेको तथ्यले क्रेमलिनप्रति संयुक्त राज्य अमेरिकाको हालैको पहलपछि युक्रेन र युरोपमा चिन्ता उत्पन्न गरेको छ । साउदी राजधानीको दिरियाह दरबारमा बिहान अमेरिका र रुसी कूटनीतिज्ञहरूबीच बैठक शुरु भएको रियादका पत्रकारले बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रियादमा भएका छलफलहरूमा किएभलाई निमन्त्रणा नगरिएको बताउनुभयो । युरोपेली नेताहरू नयाँ ट्रम्प प्रशासनको नाटकीय मोडलाई कसरी प्रतिक्रिया दिने भन्ने आपत्कालीन छलफलका लागि सोमबार पेरिसमा भेटेका थिए । ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्भावित शिखर सम्मेलनको तयारी पनि कार्यसूचीमा पर्ने अपेक्षा गरिएको छ ।
ट्रम्पले युक्रेनमा तीन वर्ष लामो सङ्घर्षको द्रुत समाधानका लागि दबाब दिइरहनुभएको छ भने रुसले उहाँको पहललाई छुट प्राप्त गर्ने अवसरका रूपमा हेरिरहेको छ । युक्रेनी समाचार एजेन्सीहरूका अनुसार जेलेन्स्कीले किएभलाई रियादमा भएको वार्ताको बारेमा ‘केही थाहा थिएन’ र यसले ‘हामीबिना हाम्रो बारेमा कुनै निर्णय वा सम्झौतालाई मान्यता दिन सक्दैनौँ’ भन्नुभयो ।
उहाँले सामाजिक सञ्जालमा कुनै पनि शान्ति सम्झौतामा ‘बलियो र विश्वसनीय’ सुरक्षा प्रत्याभूति समावेश हुनुपर्ने बताउनुभयो । शान्ति सम्झौतामा ‘बलियो र विश्वसनीय’ सुरक्षा प्रत्याभूतिका लागि फ्रान्स र बेलायतले आह्वान गरेका छन् तर सबै युरोपेली शक्तिले समर्थन गरेका छैनन् । बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले युक्रेनमा ‘शान्तितर्फका प्रयास’ लाई स्वागत गर्दै ‘एकै समयमा, हामी सबै पक्ष र सरोकारवालाहरूले वार्तामा भाग लिनसक्ने आशा गर्दछौँ’ भन्नुभयो ।
बैठकअघि रुसले पुटिन र ट्रम्प ‘असामान्य सम्बन्ध’ बाट अगाडि बढ्न चाहेको र युरोपेलीलाई कुनै पनि वार्ताको टेबलमा बस्न ठाउँ नभएको बताएको थियो । रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र पुटिनका वरिष्ठ सहयोगी युरी उसाकोभले अमेरिकी विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका दूत स्टिभ विटकोफसँग भेटवार्ता गर्नुहुनेछ ।
सम्भावित ट्रम्प–पुटिन शिखर सम्मेलन
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारलाई वार्ता ‘मुख्य रूपमा रुस–अमेरिकी सम्बन्धको सम्पूर्ण संरचना पुनःस्थापना गर्नमा समर्पित’ हुने साथै ‘युक्रेनी समाधानका सम्भावित वार्ताहरू र दुई राष्ट्रपतिबीच बैठक आयोजना गर्ने’ बारे छलफल हुने बताउनुभयो । वर्षौंदेखि युरोपमा नाटोको उपस्थिति फिर्ता लिन खोजिरहेको मस्कोले युक्रेनको सम्भावित युद्धविराम मात्र नभई व्यापक सुरक्षा मुद्दाहरूमा अमेरिकासँग द्विपक्षीय वार्ता गर्न चाहेको स्पष्ट पारेको छ ।
सन् २०२२ फेब्रुअरीमा आक्रमण गर्नुअघि पुटिनले सैन्य गठबन्धनलाई पूर्वका धेरै सदस्य देशहरूबाट आफ्ना सैनिक, उपकरण र आधार हटाउन माग गरिरहनुभएको थियो । ती मुलुक शीत युद्धको समयमा मस्कोको प्रभाव क्षेत्रमा थिए । कुनै पनि वार्ताले युक्रेन युद्ध रोक्ने सम्झौतामा पुग्ने सम्भावना अस्पष्ट छ । रुस र अमेरिका दुवैले यो बैठकलाई सम्भावित रूपमा लामो प्रक्रियाको सुरुआतको रूपमा हेरेका छन् ।
‘मानिसहरूले यसलाई विवरणको बारेमा वा कुनै प्रकारको वार्तामा अगाडि बढाउने कुराको रूपमा हेर्नुपर्छ भन्ने मलाई लाग्दैन’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टेमी ब्रुसले भन्नुभयो ।
रुसका उसाकोभले राज्य मिडियालाई वार्ताले ‘युक्रेनमा वार्ता कसरी शुरु गर्ने’ बारे छलफल गर्ने बताउनुभयो ।युक्रेन र रुस दुवैले क्षेत्रीय छुट अस्वीकार गरेका छन् र पुटिनले गत वर्ष किएभलाई अझै बढी क्षेत्रबाट आफ्ना सैनिकहरू फिर्ता लिन माग गर्नुभएको थियो । जेलेन्स्की मङ्गलबार राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग द्वन्द्वबारे छलफलका लागि टर्कीमा हुनुहुन्थ्यो । उहाँ बुधबार साउदी अरब जाने कार्यक्रम छ ।
उहाँका प्रवक्ताका अनुसार उहाँले अमेरिकी वा रुसी प्रतिनिधिमण्डलसँग वार्ता गर्ने योजना बनाउनुभएको छैन । जेलेन्स्कीले गत साता किएभ र यसका सहयोगीहरूको युद्ध अन्त्य गर्ने सामान्य स्थिति भएपछि मात्र उहाँ पुटिनलाई भेट्न तयार रहेको बताउनुभएको थियो ।
साउदी फर्कियो समूहमा
युरोपेली नेताहरू पेरिसमा आपत्कालीन सुरक्षा शिखर सम्मेलनका लागि भेला भएको बेला रुसका लाभरोभले सोमबार आफूले कुनै पनि युक्रेन वार्तामा तिनीहरूको भाग लिने कुनै अर्थ नदेखेको बताउनुभयो ।
रियादमा हुने वार्ताको महत्त्व विश्लेषकहरूले पनि बुझेका छन् । पूर्व अमेरिकी प्रशासनअन्तर्गत कूटनीतिक अछूत रहेको साउदी अरबलाई ट्रम्पको फिर्तीसँगै समूहमा फर्काइएको छ ।
‘युरोप, अमेरिकी र रुसीहरूका लागि परम्परागत मिलन स्थल हो तर वर्तमान वातावरणमा त्यो विकल्प होइन’ सिङ्गापुरको नेसनल युनिभर्सिटीका जेम्स डोर्सीले भन्नुभयो– ‘तपाईं या त एशिया जानुहुन्छ या साउदी अरब ।–
मस्को हालैका युद्धभूमिका उपलब्धिबाट बलियो भएर वार्तामा प्रवेश गर्दछ भने किएभले पनि महत्त्वपूर्ण अमेरिकी सैन्य सहयोग गुमाउने सम्भावनाको सामना गर्दैछ । किएभलाई सैन्य सहयोगको ट्रम्पले लामो समयदेखि आलोचना गर्दै आउनुभएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै