
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन शान्ति वार्ताका लागि आफ्ना रुसी समकक्षीलाई भेट्ने अपेक्षा गरेको बताएपछि चीनले बिहीबार अमेरिका र रुसले ‘सञ्चारलाई बलियो बनाएको’ देखेर ‘खुशी’ भएको बताएको छ ।
ट्रम्पले बुधबार भ्लादिमिर पुटिनसँग ‘लामो र अत्यधिक उत्पादनशील’ कुराकानी गरेको र युद्ध अन्त्य गर्न वार्ता ‘तुरुन्तै’ शुरु गर्न सहमत भएको बताउनुभएको थियो । अमेरिकी राष्ट्रपतिको ह्वाइट हाउसमा पुनरागमनपछिको यो उहाँहरूको पहिलो पुष्टि भएको सम्पर्क थियो ।
‘रूस र संयुक्त राज्य अमेरिका दुवै प्रमुख प्रभावशाली देश हुन् । चीन रूस र अमेरिकाले विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा सञ्चार र संवाद बलियो बनाएको देखेर खुशी छ’ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित प्रेस ब्रिफिङमा भन्नुभयो ।
बिहीबार बेइजिङ र वासिङ्टनका नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले चिनियाँ अधिकारीहरूले हालै मध्यस्थ मार्फत ट्रम्प र पुटिनबीच शिखर सम्मेलनको प्रस्ताव गर्न अमेरिकी प्रशासनसँग सम्पर्क गरेको बताएको थियो । त्यो प्रस्तावले कथित रूपमा ‘सम्भावित युद्धविरामपछि शान्ति स्थापना प्रयासलाई सहज बनाउने’ तर विशेष गरी युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई समावेश नगर्ने अमेरिकी दैनिकले जनाएको छ ।
ह्वाइट हाउसका एक अधिकारीले बेइजिङको प्रस्तावलाई ‘पूर्णतया अव्यावहारिक’ भन्दै खारेज गरेको जर्नलले जनाएको छ । प्रेस ब्रिफिङमा यस रिपोर्टको बारेमा सोधिएको प्रश्नमा, गुओले आफूसँग कुनै जानकारी नभएको बताउनुभयो । अस्थिर सम्बन्धको इतिहास भएका लामो समयदेखिका समाजवादी मित्रराष्ट्र चीन र रूस हालका वर्षमा कूटनीतिक, सैन्य र आर्थिक क्षेत्रमा नजिक आएका छन् ।
सन् २०२२ मा मस्कोले युक्रेनमाथि पूर्ण–स्तरको आक्रमण शुरु गरेदेखि बेइजिङले द्वन्द्वमा आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गर्न खोजेको छ । अमेरिकासहितका पश्चिमी राष्ट्रले युक्रेनलाई समर्थन गरेका छन् र रुसको निन्दा गर्न अस्वीकार गरेको चीनको आलोचना गरेका छन्, तर ट्रम्प सत्तामा फर्किएपछि वासिङ्टनको स्थितिमा शङ्का उत्पन्न भएको छ ।
गुओले बिहीबार भन्नुभयो– ‘चीनले सधैँ विश्वास गरेको छ कि संवाद र वार्ता नै सङ्कट समाधान गर्ने एकमात्र व्यवहारिक तरिका हो र सधैँ शान्ति वार्ता प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको छ ।’ एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै