
उदयपुर। उदयपुरको ग्रामिण भेगमा थारु समुदायले विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने भर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । हिजो आज कृत्रिम टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी हराउँदै जान थालेको हो ।
विवाह, भोज, भतेरसहितका कार्यमा कागजको टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी विस्थापित भएको हो । व्यावसायिक रुपमा परम्परागत टपरी उत्पादन गर्नेको रोजगारी सङ्कटमा पर्दै गएको थारु समुदायका महिला बताउँछन् । त्रियुगा नगरपालिकाको मोतिगडा, बगाहा, जोगिदह, देउरी, खैजनपुर, मोथ्याई, पोर्ताहा, लक्ष्मीपुर, पुरानो गाईघाट र गैरुन क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायको विवाह, भोज, भतेरलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा अनिवार्य रुपमा भोर्लाको पातको टपरी प्रयोग गर्ने चलन छ ।
कागजको टपरीको कारण आफूहरुको संस्कार र संस्कृति नै लोप हुने अवस्थामा पुगेको त्रियुगा–४ बगाहाका महेन्द्र चौधरी बताउनुहुन्छ । थारु समुदायको भोज भतेर विवाहसहितका धार्मिक कार्यमा भोजन गर्दा भोर्लाको पातको टपरीमा अरुलाई खाना दिने चलन छ । हिजो आज कागजको टपरी प्रयोग हुन थालेको छ ।
त्रियुगा–४ बगाहाकी ५५ वर्षीया मङ्गलीदेवी चौधरी भन्नुहुन्छ, “दश वर्ष अगाडिसम्म गाउँघरमा भोज भतेरमा अनिवार्य भोर्लाको पातको टपरीमा खाना खान दिने लचन थियो । जङ्गलबाट पात ल्याएर टपरी उद्योग नै चलाएका थियौँ । सबैतिरबाट टपरीको माग आउँदा वार्षिक रु ५० हजारदेखि रु एक लाखसम्म आम्दानी हुने गरेको थियो ।”
केही वर्षयता टपरीको माग हुन छाडेको र कागजको टपरी प्रयोग गर्न थालेपछि आफूहरुको रोजगारी सङ्कटमा परेको मङ्गलीदेवी चौधरीले बताउनुभयो । चौदण्डीगढी नगरपालिका–४ सुन्दरपुरका ६७ वर्षीय रेवतलाल चौधरी भन्नुहुन्छ, “केही वर्षअघिसम्म अनिवार्य भोर्लाको टपरी प्रयोग गर्ने चलन थियो । कागज र प्लास्टिकका टपरी प्रचलनमा आएपछि भोर्लाको टपरी लोप नै हुने अवस्था आयो ।”
थारु कल्याणकारी सङ्घ उदयपुरका अध्यक्ष डुल्लीराम चौधरीले भन्नुहुन्छ, “पूर्खाको पालादेखि भोर्लाको पातको टपरी प्रयोग गर्ने चलन थियो । अब हराउँदै गएको छ ।” संस्कृति र संस्कार बचाउन आवश्यक रहेको उहाँले बताउनुभयो । केही वर्षअघिसम्म भोर्लाको टपरीका लागि जिल्लाबाहिर सप्तरी, सिरहा, मोरङ, सुनसरीलगायत ठाउँबाट माग आउने गरेको त्रियुगा–४ बगाहाका महेन्द्र चौधरी बताउनुहुन्छ । भोर्लाको पातको टपरी आफूहरुको सांस्कृतिक पहिचान भएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै