
पाल्पा। पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा आज अन्तरप्रदेश समन्वय बैठक बस्दैछ । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको अन्तरप्रदेश समन्वय बैठक यहाँ बस्न लागेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयलगायत प्रदेशका मन्त्री, मुख्यसचिव, सचिवलगायत कर्मचारीको अन्तरप्रदेश समन्वय बैठकमा सहभागिता रहनेछ । कालीगण्डकी नदीको तटमा अवस्थित रानीमहल दरबारमा दुई प्रदेशका मुख्यमन्त्रीसहितको बैठकमा लुम्बिनी र गण्डकी प्रदेशका भावी योजनाबारे विस्तृत गहन छलफल हुनेछ ।
कालीगण्डकी नदीले लुम्बिनी र गण्डकी प्रदेशलाई जोडेकाले दुई प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तरप्रदेश व्यापार, व्यवसायलगायत क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले यहाँ बस्ने बैठकलाई विशेष चासोका रूपमा हेरिएको तानसेन–१३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईले बताउनुभयो । विशिष्ट व्यक्तिको उपस्थितिले नदी वारिपारिका क्षेत्रको समृद्धि र विकासका साझा सरोकारका विषयमा महत्वपूर्ण विषय उठान हुने सरोकार भएकाको अपेक्षा छ ।
नेपालको ताजमहलका रूपमा चिनिने पाल्पाको रानीमहल दरबार जिल्ला सदरमुकाम तानसेनबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ । करिब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवलालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जल शेचनको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टसहितको विभिन्न आकर्षक कलाकृतिहरू देख्न सकिन्छ ।
तानसेन नगरपालिका–१३ मा रहेको रानीमहलमा सबै उमेर समूहका पर्यटक घुम्न जाने गर्दछन् । अहिले यस क्षेत्रमा होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्दै गएको छ । रानीमहल दरबारलाई नियाल्दै कालीगण्डकी नदीमा जलयात्रा गर्ने अवसर रहेकाले पनि पर्यटकहरू अवलोकन गर्न पुग्दछन् ।
विसं १९५० मा पाल्पा गौँडाका तैनाथवाला प्रधानसेनापति खड्ग शमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर बनाइएको छ ।
यहाँ एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवङ्गत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । विसं १९६० मा खड्ग शमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र ग¥यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाएपछि चन्द्रशमसेरले सेना पठाएर तैनाथी आफ्नो हातमा लिएका थिए । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भएका थिए । त्यसै दिनदेखि प्रेमको प्रतीक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । कालीनदीको चट्टामाथि बनेको हुँदा पनि यस दरबारले सबैलाई आकर्षित गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै