
काठमाडौँ । बङ्गलादेशका प्रदर्शनकारीले अपदस्थ नेतासँग सम्बन्धित भवन ध्वस्त पारेका छन् ।
विद्यार्थीहरूले पदच्यूत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन शुरु गरेको केही घन्टापछि सयौँ बङ्गलादेशी प्रदर्शनकारीले बिहीबार हसिनासँग सम्बन्धित भवन भत्काएका छन् ।
हसिनाका दिवङ्गत पिता एवं बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घर र सङ्ग्रहालयमा गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिको क्रममा आगो लगाइएको थियो । त्यो क्रान्तिले हसिनाको १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेको थियो ।
हसिनाले अगस्ट ५ मा हेलिकोप्टरबाट पुरानो मित्रराष्ट्र भारततर्फ उडान भरेको ठीक ६ महिनापछि बुधबार राति हथौडा र धातुका डन्डा बोकेको भीडले राजधानी ढाकाको भवनको पर्खाल भत्काउन थाल्यो ।
नरसंहारको मुद्दामा ढाकामा मुद्दाको सामना गर्न पक्राउ पूर्जीको अवज्ञा गरिरहनुभएकी ७७ वर्षीया हसिना निर्वासनबाट फेसबुक प्रसारणमा देखा पर्ने रिपोर्टहरूको प्रतिक्रियामा विरोध प्रदर्शन भड्किएको थियो ।
बिहीबार बिहान बाँकी रहेको आगोले कालो पारेका पर्खाल भत्काउन डिगर प्रयोग गरिँदै थियो ।
प्रदर्शनकारीले हसिनाका दिवङ्गत पतिको ढाकाको घरमा भएको आगलागीसहित हसिनासँग सम्बन्धित देशभरका अन्य घरहरूमा पनि तोडफोड र आगो लगाइदिए ।
सबैभन्दा ठूलो बङ्गाली दैनिक प्रथम आलोले खुल्ना शहरमा हसिनाको परिवारको स्वामित्वमा रहेको भवन ध्वस्त पार्न भीडले सरकारी स्वामित्वको उत्खनन यन्त्र प्रयोग गरेको रिपोर्ट गरेको छ ।
तोडफोड गरिएका घरहरू –
पश्चिमी शहर कुष्टियामा प्रदर्शनकारीले हसिनाको अवामी लिग पार्टीका नेता महबुबुल आलम हनिफको घरमा तोडफोड गरेका छन् ।
चट्टगाँवमा प्रदर्शनकारीले मसाल जुलुश निकाले र शेख मुजिबुर रहमानको भित्तेचित्र तोडफोड गरे ।
अन्तरिम सरकारले आक्रमणको लहरबारे कुनै औपचारिक टिप्पणी गरेको छैन र सुरक्षा बलले प्रदर्शनकारीलाई भवनमा आक्रमण गर्न दिएर हेरिरहे ।
छिमेकका एक निजी सुरक्षा गार्डले परिवारहरूले भरिएका नजिकैका भवनमा आगो फैलिने डरले उनले फायर सर्भिसलाई एक दर्जनभन्दा बढी पटक फोन गरेको बताए ।
‘हामीले आफैँले बिजुलीको लाइन काटिदिएका छौँ’ जमाल उद्दीनले भन्नुभयो– ‘स्थिति कहिले सामान्य हुनेछ मलाई थाहा छैन ।’
रहमानको पूर्व निवास नजिक बस्ने एक पसलेले अराजकताप्रति चिन्ता व्यक्त गरे । ‘यो तोडफोड राम्रो सङ्केत होइन’ बोलेकोमा प्रतिशोधको डरले नाम नखुलाउन अनुरोध गर्दै उनले भने । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ