
काठमाडौँ । सभामुख देवराज घिमिरले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको बताउनुभएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव तथा चिनियाँ नयाँ वर्ष २०२५ का अवसरमा चिनियाँ दूतावासद्वारा ्आयोजित कार्यक्रममा उहाँले चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको बताउनुभयो ।
‘चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि हामी आभारी छौँ । नेपाल र चीनबीच सदियौँ पुरानो एवं निकट, मित्रवत् र सहयोगात्मक सम्बन्ध रहिआएको छ’ उहाँले भन्नुभयो– ‘हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छ, जुन आपसी विश्वासको बलियो जगमा निर्माण भएको छ । भौगोलिक र सांस्कृतिक समानताहरूका साथै जनस्तरको सम्बन्धले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप मजबुत पार्दै लगेको छ ।’
सभामुख घिमिरेले दुई देशबीच विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन यस्ता कार्यक्रमले ठूलो योगदान गर्ने बताउनुभयो । चिनियाँ परम्पराअनुसार यो वर्ष सर्पको वर्ष भएको बताउँदै उहाँले यस नयाँ वर्षले चिनियाँ मित्रजनहरूमा थप खुशी, प्रगति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
सात दशकअघि सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको उल्लेख गर्दै सभामुख घिमिरेले पञ्चशीलद्वारा निर्देशित हाम्रो द्विपक्षीय सम्बन्ध असल छिमेकपन, आपसी साझेदारी र सम्मानका साथै अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा आधारित रहेको बताउनुभयो । ‘हामीबीचको यस्तो सुमधुर सम्बन्धलाई थप सुदृढ र घनिभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ’ उहाँले भन्नुभयो ।
नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताउँदै उहाँले एकापसमा उच्चस्तरीय भ्रमण एवं कार्यक्रमहरूको नियमित आदानप्रदानमार्फत हामीले द्विपक्षीय सम्बन्धमा उल्लेख्य प्रगति र गतिशीलता हासिल गरेको उल्लेख गर्नुभयो ।
सन् २०१९ मा नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको चीनको राजकीय भ्रमण र सोही वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको राजकीय भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेको उहाँको भनाइ थियो ।
‘हालसालै डिसेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणले नेपाल–चीनबीचको मित्रवत् सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउन उल्लेख्य मद्दत मिलेको छ’ सभामुख घिमिरले भन्नुभयो– ‘औपचारिक भ्रमणका क्रममा भएका महत्त्वपूर्ण निर्णय र सम्झौताहरूले हाम्रो द्विपक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ गति प्रदान गर्न मार्गप्रशस्त गरेका छन् ।’
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले स्वागत गर्दै गत वर्ष विविध चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्दै चीनले उत्कृष्ट प्रगति गरेको बताउनुभयो । साथै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय नेतृत्वमा, विशेषगरी अध्यक्ष सी चिनफिङको मार्गदर्शनमा चीनले जटिल अन्तर्राष्ट्रिय अवस्थाको बीचमा आफ्नो आर्थिक विकासलाई सुनिश्चित गरेको जानकारी गराउनुभयो ।
राजदूत चेनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन–नेपाल रणनीतिक सहकारी साझेदारीलाई अगाडि बढाउँदै बेल्ट एण्ड रोड निर्माणलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न, सहयोग ढाँचा सम्झौतामा हस्ताक्षर गर्नुभएको उल्लेख गर्नुभयो । यसले विकास र समृद्धिको दिशामा नेपाल र चीनबीचको दीर्घकालीन मित्रताको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याएको उहाँको भनाइ छ ।
‘दुई देशका बीचमा, त्रि–आयामिक कनेक्टिभिटी नेटवर्क निर्माणले गति लिइरहेको छ, १४ परम्परागत सीमा व्यापार नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन् र सातामा ४८ वटा सिधा हवाई उडान सञ्चालनमा रहेका छन्’ उहाँले भन्नुभयो– ‘दुई देशका मित्रहरू एकअर्कालाई पर्यटनका लागि घुम्न आउने, नेपालमा लगानी गर्न र व्यापार गर्नका लागि धेरै चिनियाँ उद्यमीहरू आउने र बढीभन्दा बढी नेपाली सामान चीनमा निकासी हुने गरेको देख्दा हामी खुशी छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव