+

स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले प्रतिवेदन बुझायो

काठमाडौँ ।  स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले प्रतिवेदन बुझाएको छ । समितिले  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई आज प्रतिवेदन हस्तान्तरण गरेको हो ।


मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका विभिन्न बुँदा कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘बीमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ । यो प्रतिवेदनले स्वास्थ्य बीमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको छ । प्रतिवेदन अध्ययन गरेर यसलाई लागू गर्नेछौँ ।’

उहाँले विद्यमान स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित हुन नसकेको र लक्षित समूहले पूर्ण रुपमा लाभ पुग्ने गरी सेवा लिन नसकेको भन्दै प्रतिवेदनले सुधार गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले प्रतिवेदन मन्त्रिपरिषदमा पनि बुझाइने र केही समयपछि सार्वजनिक गरिने जनाउनुभयो ।

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य बीमा सुधारका निम्ति पेस गरिएको प्रतिवेदन राम्रो कामको शुरुवात भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विभिन्न चरणमा विज्ञसँग छलफल गरेर तयार पारिएको प्रतिवेदन हो । स्वास्थ्य बीमासम्बन्धी रणनीति प्रतिवेदनमा आएको छ । अध्ययन गरेर यसको कार्ययोजना बनाउनेछौँ ।’

असोज ९ गते वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यको संयोजकत्वमा मन्त्री पौडेलले स्वास्थ्य बीमा सुधार गर्न नौ सदस्यीय समिति गठन गर्नुभएको थियो । प्रतिवेदनका संयोजक आचार्यले प्रतिवेदनले स्वास्थ्य बीमा देखिएका अवसर र चुनौति केलाइएको प्रतिक्रिया दिनुभयो । 

उहाँले भन्नुभयो– ‘स्वास्थ्य बीमा ठूलो कार्यक्रम हो । यसको प्रभावकारी सञ्चालनका लागि प्रतिवेदनमा तत्काल तथा भविष्यमा गर्नुपर्ने सुधारका प्रयास समेटिएको छ ।’ उहाँले स्वास्थ्य बीमा लागू भएका छिमेकी देश र अन्तर्राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीका अभ्यास अध्ययन गरेर सुझावसहितको प्रतिवेदन तयार पारिएको जानकारी गराउनुभयो ।

समितिमा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा रघुराज काफ्ले, वरिष्ठ मुटु शल्यचिकित्सक प्रा डा भगवान् कोइरालासहित अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहेका छन् ।

 त्यसैगरी स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख तथा निजी क्षेत्रका प्रतिनिधिलाई समिति सदस्य तोकिएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै