+

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँ : राष्ट्रपति

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्कता भएको बताउनुभएको छ । ‘संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आज आयोजना गरेको श्रम संसदमा मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्र नभइ  यससँग मानवीय पक्ष पनि हो’  उहाँले भन्नुभयो । 


उहाँले आफूले राजनीतिक जीवनमा देशको सामाजिक एवं आर्थिक रुपान्तरणका लागि किसान र श्रमिकलाई साथमा लिएर काम गरेको स्मरण गर्नुभयो । ‘निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ’ राष्ट्रपतिले भन्नुभयो । 

नेपालका श्रमजीवीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, सङ्गठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदाबाजी र योगदानमा आधारित सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा समावेश गरिएको उहाँले बताउनुभयो । 

‘देशमा सबैभन्दा ठूलो श्रमिकहरूको सङ्ख्या कृषि क्षेत्रमा रहेकाले मैले ‘व्यावसायिक कृषि कार्यक्रम’ र कृषि क्रान्तिको कुरा श्रमिकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ’ उहाँले भन्नुभयो ।  

राष्ट्रपतिले  प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असरबाट महिला श्रमिकहरू बढी प्रभावित भएका बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै