+

काठमाडौँ महानगरको बजेट संशोधन गरिने, उपमेयरले राखिन् प्रस्ताव

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाको बजेट संशोधन गरिने भएको छ । विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने भएकाले बजेट संशोधन गर्न लागिएको हो । 


काठमाडौँ महानगरले चालु आर्थिक वर्ष २०८१ र ८२ को अर्धवार्षिक समीक्षा अगावै बजेट संशोधन प्रक्रिया शुरु गरेको छ ।काठमाडौँ महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेश गर्नुभएको छ ।

‘महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रम हेरफेर गर्न जरुरी देखिएको छ’ उपप्रमुख डंगोलले भन्नुभयो– ‘विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेश गर्नुपरेको हो ।’

संशोधन बजेट प्रस्ताव गर्दा विषय विज्ञ, महानगरपालिकाका विषयगत समिति एवं अन्य विभिन्न समितिहरुमा छलफल तथा विश्लेषण गरी बजेट तथा कार्यक्रम तर्जुमा समिति र कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पास गरी नगरसभामा पेस गरिएको उपप्रमुख डङ्गोलले बताउनुभयो । आर्थिक वर्षका लागि विनियोजित कूल बजेट रकम, चालुगत तथा पुँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेस गरेको नगरसभामा उहाँले स्पष्ट पार्नुभयो ।

संशोधित प्रस्ताव अनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर ७२ करोड ४३ लाख ७१ हजार रुपैया कायम गर्न लागिएको छ । सो क्षेत्रमा यस अघि  ७२ करोड ९९ लाख ७१ हजार रुपैया विनियोजन भएको थियो ।

कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा ३ अर्ब ७० करोड ५३ लाख ८ हजार रुपैयाँ विनियोजन भएकोमा त्यसलाई बढाएर  ३ अर्ब ७२ करोड ६८ लाख ४२ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ । 

त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमारू १२ अर्ब एक करोड ९३ लाख ९१ हजार पाँच सय बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५ सय रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ ।

सामाजिक विकासका क्षेत्रमा यसअघि रू पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार पाँच सय विनियोजन भएकोमा त्यसलाई घटाएर रू पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि  दुई अर्ब २२ करोड ६५ लाख ८५ हजार रुपैया बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ । त्यस क्षेत्रमा यस अघि दुई अर्ब ९६ करोड २९ लाख ८५ हजार रुपैयाँ विनियोजन भएको थियो ।

पाँच महिनामा १६ प्रतिशत बजेट खर्च
महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा भने कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले  २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म चार अर्ब एक करोड चार लाख ५६ हजार रुपैया बराबर खर्च भएको उपप्रमुख डङ्गोलले नगरसभालाई जानकारी गराउनुभयो । हालसम्मको बजेट खर्च कूल विनियोजनको १६ दशमलव १० प्रतिशत हो । 

महानगरपालिकाले हालसम्म चालु शीर्षकमा २३ दशमलव ५८ प्रतिशत र पुँजीगत खर्च १० दशमलव ९२ प्रतिशत खर्च भएको छ । ‘हालसम्म पूर्वाधार विकासमा १२ दशमलव १३ प्रतिशत, आर्थिक विकासमा २४ दशमलव १८ प्रतिशत, सामाजिक विकासमा १२ दशमलव २३ प्रतिशत खर्च भएको छ’ उपप्रमुख डङ्गोलले भन्नुभयो– त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात दशमलव ९२ प्रतिशत खर्च भएको देखिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा वढी ३६ दशमलव ५४ प्रतिशत खर्च भएको देखिन्छ ।’

महानगरपालिकाले चालु आर्थिक वर्षमारू १२ अर्ब ९० करोड ६३ लाख २५ हजार बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो ।  पुस ११ गतेसम्म कूल चार अर्ब नौ करोड ८९ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व प्राप्त भएको महानगरले जनाएको छ । 

जसमा आन्तरिक राजस्वतर्फ कूल  दुई अर्ब ६१ करोड ५५ लाख ४३ हजार रुपैयाँ सङ्कलन भएको छ भने राजस्व बाँडफाँडबाट . ५९ करोड ८९ लाख ४१ हजार र सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान  ८८ करोड ४४ लाख ५१ हजार  रुपैयाँ रहेको छ । हालसम्मको कूल राजश्व सङ्कलन वार्षिक लक्ष्यको ३१ दशमलव ०७ प्रतिशत हुन आउँछ भने आन्तरिकतर्फ कुल लक्ष्यको ३२ दशमलव ५५ प्रतिशत प्रगति भएको देखिन्छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरले ८२ दशमलव ७५ अंक प्राप्त गरेको पनि उपप्रमुख डङ्गोलले बताउनुभयो । यो अंक काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च अंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै