
भोजपुर । रामप्रसादराई गाउँपालिका–३ भुल्केका किसान जैविक खेती प्रणालीमा जुटेका छन् । विषादीरहित कृषिबाली उत्पादन गर्ने उद्देश्यले किसान जैविक खेती प्रणालीमा जुटेका हुन् ।
रामप्रसादराई गाउँपालिका तथा वडा कार्यालयले अभियान सञ्चालन गरेर यहाँका अगुवा किसानलाई जैविक खेती प्रणालीका विषयमा आवश्यक तालिमसँगै सामग्री वितरण गरेपछि किसान यो खेती प्रणालीप्रति आकर्षित भएका हुन् ।
गाउँपालिकाको कृषि शाखाले यहाँका आठ वडामा जैविक खेती प्रणाली तथा जैविक विषादी बनाउने, स्थानीयस्तरमा पाउने कच्चा पदार्थको प्रयोगबाट प्राङ्गारिक मल बनाउने लगायत विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको रामप्रसादराई–३ भुल्केका वडाध्यक्ष रामु थापामगरले जानकारी दिनुभयो । बजारमा बाहिरी जिल्लाबाट आउने विषादीयुक्त तरकारी तथा कृषि उपजको आयात बढेपछि किसानलाई जैविक खेती प्रणालीमा जोड दिइएको वडाध्यक्ष थापामगरले बताउनुभयो ।
‘हामीले यहाँ जैविक खेती प्रणालीमा जोड दिएका छौँ’ वडाध्यक्ष थापामगरले भन्नुभयो– ‘किसानलाई अभ्यास गराएर जैविक खेती प्रणाली तथा जैविक मल, विषादी बनाउने विषयमा आवश्यक तालिमसँगै साम्रगी पनि वितरण गरिरहेका छौँ । अहिले किसान जैविक खेती प्रणालीमा जुटेको अवस्था छ, यो अभियान भावी दिनमा पनि जारी राख्छौँ ।’
बढ्दो रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै किसानलाई जैविक खेती प्रणालीमा जोड्नका लागि आवश्यक सामग्री वितरणसँगै तालिम दिएको हो । यहाँका आठवटा वडाका अगुवा किसानलाई लक्षित गरेर अभ्यासमूलक जैविक खेती प्रविधिका विषयमा सीप प्रदान भइरहेको छ । गाउँपालिकाले जैविक खेती प्रणालीसम्बन्धी तालिम दिएपछि यो खेती प्रणालीमा लाग्न सहज भएको स्थानीय अगुवा किसान गोपाल खड्काले बताउनुभयो । जैविक खेती प्रणालीसम्बन्धी प्राविधिकहरूबाट अभ्यासमार्फत सीप लिन पाउँदा सिकाइ उपलब्धिमूलक बनेको उहाँको भनाइ छ ।
‘स्थानीय सरकारबाट हामीले जैविक खेती प्रणालीमा लाग्नको लागि तालिमसँगै आवश्यक प्राविधिक सहयोग पाएका छौँ’ उहाँले भन्नुभयो– ‘प्राविधिकबाट मैले जैविक खेती प्रणालीका विषयमा धेरै ज्ञान लिने अवसर पाएँ । स्थानीयस्तरमा पाइने वस्तुको प्रयोग गरेर धैरे खालका मल तथा विषादी बनाउन सकिने रहेछ ।’
अगुवा किसानलाई बारीमा नै अभ्यास गराएर जैविक खेती प्रणालीसँगै स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोगबाट प्राङ्गारिक मल, विषादी बनाउनेलगायत विषयमा सीप प्रदान गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख धिरज ठाकुरले बताउनुभयो । किसानलाई जैविक खेती प्रणालीमा लाग्न आवश्यक पर्ने सामग्री पनि वितरण गरिएको उहाँ बताउनुहुन्छ । किसानलाई जैविक उत्पादनको महत्व तथा यस्ता उत्पादनले मानव जीवनमा पुर्याउने फाइदाका विषयमा जानकारी दिँदै आएको उहाँ भन्नुहुन्छ ।
‘स्वास्थ्य जीवनशैलीका लागि हामीले जैविक खेती प्रणालीमा जोड दिन आवश्यक छ’ उहाँले भन्नुभयो– ‘किसानमा जैविक खेती प्रणालीका विषयमा ज्ञान नहुँदा पनि रासायनिक मलको बढी प्रयोग हुने गरेको अवस्था छ । हामीले यहाँका किसानलाई जैविक खेती प्रणालीका विषय आवश्यक ज्ञान प्रदानसँगै यो प्रविधिको विषयमा जानकारी दिएका छौँ । किसान अहिले उत्साहका साथ जैविक खेती प्रणालीमा जुटेका छन् ।’
किसानलाई कृषिमा आत्मभिर्नर बनाउने लक्ष्यका साथ गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएर अघि बढेको गाउँपालिका अध्यक्ष थामबहादुर राई बताउनुभयो । गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेर किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा पनि सहयोग गर्दै आएको उहाँले बताउनुभयो । ‘हामीले खास गरेर जैविक खेती प्रणालीमार्फत अग्र्यानिक उत्पादनमा जोड दिएका छौँ’ अध्यक्ष राईले भन्नुभयो– ‘अहिले हामीले सबै वडाका अगुवा किसानलाई जैविक खेती प्रणालीका विषयमा आवश्यक तालिम दिँदै आएका छौँ । किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरणका लागि समेत आवश्यक सहयोग गर्दै आएका छौँ ।’
जलावायु परिवर्तनको नकारात्मक असरको न्यूनीकरणसँगै मानव स्वास्थ्यमा लाग्ने क्यान्सरलगायत नसर्ने प्राणघातक रोग बढदै गएकाले पछिल्लो समय जैविक खेती प्रणालीमा जोड दिन आवश्यक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । मावन स्वास्थ्यलाई ध्यानमा राख्दै रासायनिक मल र विषादीको प्रयोगलाई घटाउने लक्ष्यका साथ गाउँपालिकाले जैविक खेती प्रविधिमा जोड दिएको उहाँको भनाइ छ ।
व्यावसायिक खेती प्रणालीमा लाग्ने किसानलाई उनीहरूको व्यावसायिक योजनाका आधारमा सहयोगका कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु