+

बाग्लुङ महोत्सवमा १० करोडको कारोबार

बाग्लुङ । बाग्लुङ महोत्सवमा १० करोड रुपैयाँको कारोबार भएको छ । 

बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनमा पुस ११ देखि २२ गतेसम्म  महोत्सव गरिएको थियो ।  महोत्सव ८ लाखले  अवलोकन गरेको र त्यसमा १० करोड रुपैयाँको कारोबार भएकोआयोजकले जनाएका छन् ।  महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन र सांस्कृतिक सम्पदाको उजागर गरिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभएको छ । महोत्सवमा १ सय २० व्यापारिक कक्ष, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री कक्ष तथा लुकेर रहेका पर्यटकीयस्थल चिनाउन फोटो प्रदर्शनी गरिएको थियो । 

महोत्सवमा घरेलु उत्पादन सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, भाँगो, टिमुर, आलु, भुटेको मकै, अल्लोबाट उत्पादन गरिएको कपडा बिक्री गरिएको थियो । महोत्सवमा स्थानीय उत्पादन मुला, फर्सी, टमाटरलगायत कृषिउपजको प्रदर्शनी गरिएको थियो ।  ‘महोत्सवले निरासातर्फ गएको बाग्लुङको व्यापारलाई माथि उठायो, धेरै व्यापारिक कक्ष खाली नै हुनेगरी व्यापार भयो, बागलुङ बजार आसपासका क्षेत्रका नागरिकसमेत किनमेलका लागि आउनुभयो’  अध्यक्ष कँडेलले भन्नुभयो– ‘महोत्सवको आकर्षणका रुपमा फोटो प्रदर्शनी र स्थानीय उत्पादन प्रभावकारी रहे । महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, महोत्सवले बाग्लुङको पर्यटन र व्यापारमा एउटा इँटा थपेको छ ।’

कोरोनापछि सुस्ताएको व्यापार बढाउन बाग्लुङ महोत्सव फलदायी भएको संघका महासचिव ऋषिराम गौतमले जानकारी दिनुभएको छ । ‘मुख्य मञ्च, व्यापारिक कक्ष, रमाइलो मेलालगायतले धेरैलाई आकर्षण गरेको थियो, दुलही जस्तै सिङ्गारिएको बाग्लुङ बजारले व्यापार व्यवसायलाई फस्टाउन मद्दत गरेको थियो’, गौतमले भन्नुभयो, ‘महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा आयोजना गर्नु ऐतिहासिक उपलब्धि भएको छ ।’

महोत्सवमा खुला रिले दोहोरी तथा प्रत्यक्ष दोहोरी गीत प्रतियोगिता, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता सम्पन्न गरिएको छ । संघको सामाजिक उत्तदायित्वअन्तर्गत महोत्सवबाट बचत भएको रकम सदस्य कल्याणकारी कोषमा ५ लाख रुपैयाँ जम्मा गरिने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रवृत्ति कोषमा सहयोग गरिने, बाग्लुङ बजारमा सिसी क्यामेरा जडानमा सहयोग गर्ने, कोसेली घर सञ्चालनमा ल्याउने र नेपाल पत्रकार महासंघको संस्थागत विकासमा सहयोग गरिने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट