+

राष्ट्रियसभामा हरुवाहरु नै ‘चरुवा’ !

तीर्थ न्यौपाने/ टिप्पणी
काठमाडौँ।
प्रतिनिधिसभाले पारित गरेका विभिन्न विधेयक राष्ट्र र जनहित अनुकूल भए, नभएबारे छलफल तथा निर्णय गर्ने निकाय हो राष्ट्रियसभा । नीति निर्माण तहमा बसेर मुलुकलाई योगदान दिन सक्ने व्यक्तिहरुलाई समेट्ने उदेश्यले राष्ट्रियसभाको अवधारणा बनाइएको हो । प्रतिनिधिसभामा  आउन नसकेका विभिन्न समुदायका उत्कृष्ट तथा नीति निर्माण तहमा आवश्यक व्यक्तिहरुलाई राष्ट्रियसभामा ल्याउने यसको उदेश्य हो । 

विवादित अवस्थामै प्रतिनिधिसभाबाट पारित भएका विधेयकलाई राष्ट्रियसभाले पुन:विचार गर्न पाउँछ । यस्तो संवेदनशील निकायलाई पछिल्लो समय भने पंगु बनाइएको छ । राष्ट्रियसभालाई दलले पंगु मात्रै होइन जनताले तिरस्कार गरेका नेताहरुको ‘चरन क्षेत्र’ नै बनाएका छन् । यसको ज्वलन्त उदाहरण हुन्- नाराणकाजी श्रेष्ठ र वामदेव गौतम ।  २०७४ साल मंसिरको निर्वाचनमा गोरखाबाट प्रतिनिधिसभा सदस्यमा पराजित हुनुभएका नाराणकाजी श्रेष्ठलाई तत्कालीन नेकपाले राष्ट्रियसभामा ल्याएको हो । नाराणकाजी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा राष्ट्रियसभामा आउनु भएको हो ।  त्यसबेला नेकपाले गण्डकीबाट नाराणकाजी र भगवती न्यौपानेलाई राष्ट्रियसभामा ल्याएको थियो । तत्कालीन नेकपाभित्र नाराणकाजी माओवादी र भगवती एमाले पक्षबाट राष्ट्रियसभा उम्मेदवार भइ निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभा सदस्यमा गोरखाबाट हार्नुभएका नारायणकाजी अहिले राष्ट्रियसभा सदस्य बनेर राजनीतिमा चहरिरहनु भएको छ । उहाँ अहिले मुलुकको उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । 

तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा बर्दियाबाट पराजित हुनुभएका वामदेव गौतमलाई समेत राष्ट्रियसभामा ल्याउन जोड गर्नुभएको थियो । तर नेता गौतम राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न मान्नु भएन । तत्कालीन नेकपाको ९ सदस्यीय केन्द्रीय सचिवालयमा सदस्यको हैसियतमै रहेपनि गौतम प्रभावकारी भूमिकामा हुनुहुन्थ्यो ।  

तत्कालीन नेकपाको सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल र सदस्यहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल,  रामबहादुर थापा बादल र विष्णु पौडेल हुनुहुन्थ्यो।  सचिवालयमा सदस्य रहनुभएकाहरु मध्ये पछि गौतमलाई उपाध्यक्ष, पौडेललाई महासचिव र नारायणकाजीलाई प्रवक्ता बनाइएको थियो । सचिवालयमा रहेका ९ जना नेता मध्ये वामदेव र नाराणकाजी बाहेक अरु नेता प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो   नारायणकाजीलाई  राष्ट्रियसभामा ल्याएपछि सचिवालयमा रहेका नेताहरु मध्ये वामदेव मात्रै संसद बाहिर पर्नुभयो । संसद बाहिर रहनुभएका वामदेवलाई पनि पछि राष्ट्रपतिबाट मनोनीत गराएर राष्ट्रियसभामा ल्याइयो । विगतमा पटक पटक गृहमन्त्री तथा उपप्रधानमन्त्री भइसक्नु भएका गौतमलाई तत्कालीन नेकपाभित्र पनि अध्यक्ष प्रचण्डकै जोडबलमा राष्ट्रियसभा सदस्य बनाइएको हो । गौतम राजनीतिक मैदानमा अहिले पनि राष्ट्रियसभा सदस्यको रुपमा चाहरिरहनु भएको छ । 

प्रधानमन्त्री तथा नेकपा माआोवादी केन्द्रका अध्यक्ष प्रचण्डले नारायणकाजी र वामदेवपछि अहिले फेरि अर्का ‘हरुवा’लाई राष्ट्रियसभामा ‘चरुवा’  बनाउने तयारी गर्नुभएको छ, उहाँ हुनुहुन्छ झक्कुप्रसाद सुवेदी । २०६४ सालमा काठमाडौँ क्षेत्र नम्बर २ मा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई थोरै मतान्तरले पराजित गरेर राजनीतिक वृतमा चिनिनु भएका सुवेदीलाई माओवादी केन्द्रले लुम्बिनीबाट राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको छ । २०४९ मा रोल्पाको जिल्ला विकास सभापति बन्नुभएका सुवेदी राजनीतिक वृतमा दुई पटक चर्चामा रहनु भयो । एक पटक एमालेका तत्कालीन महासचिव नेपाललाई हराएर, अर्को पटक आफ्नै मतदाताको थप्पड खाएर । सुवेदीलाई गोरखाबाट काठमाडौँ बसाइँ सरेर आएका मतदाता ५० वर्षका प्रेमराज देवकोटाले तिनकुनेमा झापड हान्नुभएको थियो । २०६४ सालको निर्वाचनमा सुवेदीलाई मत दिनुभएका देवकाटा झापड हानेपछि करिब डेढ महिना प्रहरी चौकीमा बस्नुपर्यो । माओवादी केन्द्रभित्र बौद्धिक नेता मानिनु हुने सुवेदी त्यसपछि भने खास्सै चर्चामा हुनुहुन्न । २०७४ को निर्वाचनमा तत्कालीन  नेकपाबाट उम्मेदवार भई काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसमा भीमसेनदास प्रधानसँग पराजित भएपछि भने उहाँ लामो समय गुमनाम जस्तै हुनुभएको थियो । अहिले फेरि राष्ट्रियसभा सदस्य उम्मेदवार प्रस्तावित भएपछि सुवेदी चर्चामा आउनुभएको छ । 

संसदको ठूलो दल नेपाली कांग्रेसले पनि राष्ट्रियसभा निर्वाचनमा ‘हरुवा’लाई प्राथमिकता दिएको छ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा विगतमा अवसर नपाएका योग्य र लोकप्रियलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेसले त्यो निर्णय लत्याउँदै प्रतिनिधिसभा सदस्यमा पराजित हुनुभएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले सिटौलालाई कोशीबाट राष्ट्रियसभामा ल्याउन लागेको हो ।  कांग्रेस नेता कोइराला गत वर्ष मंसिरमा भएको प्रतिनिधसभा निर्वाचनमा राप्रपाका राजेन्द्र लिङदेनसँग झापा क्षेत्र नम्बर ३ बाट पराजित  हुनुभएको थियो । सत्ता गठबन्धनको  भागबण्डा र सहमति अनुसार उहाँ अहिले फेरि राष्ट्रियसभाबाट संसद छिर्न लाग्नुभएको हो  । 

राष्ट्रियसभा निर्वाचनमा अन्य दलले पनि सांसदमा हारेहरुलाई उम्मेदवार बनाउने प्रयत्न गरिहेका छन् । जनता समाजवादी पार्टी (जसपा) ले  पूजा चौधरीलाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने भएको छ ।  पूजा गत वर्ष मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित  हुनुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै