+

एक्कासी कसरी अशान्त भयो सर्लाहीको बरहथवा ?

जनकपुर । अस्पताल सञ्चालनको बिषयमा राजनीतिक दलका कार्यकर्ताबीच भएको विवादले उग्र रुप लिँदा सर्लाहीको बरहथवा–६ मा प्रहरीको गोलीबाट एक निहत्था युवाको ज्यान भएको छ । शुक्रबार प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो ।

स्थानीयले मृतकको शव राखेर प्रदर्शन गर्न गालेपछि परिस्थितीलाई नियन्त्रण गर्न प्रशासनले बरहथवा नगर क्षत्रेमा भोलि (शनिबार) बिहान ८ बजेसम्म कफ्र्यू लगाएको छ ।

यस्तो छ विवादको कारण

संघीय सरकारले १८ करोड रुपैयाँ खर्चिएर बरहथवा बजारको तत्कालीन प्राथमिक स्वास्थ्य चौकीको नयाँ भवन बनाएको छ । यो भवनमा १५ शैय्याको अस्पताल बनाउने कि ५० शैय्याको बनाएर प्रदेश सरकारलाई चलाउने दिने भन्ने विवादले उग्र रुप लिंदा बरहथवा अशान्त भएको हो । 

प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा बरहथवामा ५० शैय्याको अस्पताल बनाउने घोषणा गरेको छ । बरहथवा नगरपालिकाको नगर कार्यपालिकाले ९ असोज २०८० मा बैठक बसेर प्राथमिक स्वास्थ्य चौकीको भवन ५० शैय्याको अस्पताल सञ्चालन गर्न प्रदेशलाई दिने निर्णय पनि गरेको थियो ।

तर प्रदेश सरकारले अस्पताल संचालन गरे कांग्रेस लगायतका सत्तारुढ दल हाबी हुने स्थानीय सरकारको नेतृत्व गरेको दल एमालेको बुझाइ बन्यो ।

एमालेबाट निर्वाचित मेयर कल्पनाकुमारी कटवालले निर्णय अनुसार प्रदेश सरकारलाई सहमति पत्र दिइनन् । प्रदेश सरकारले अरु अस्पताल राम्रोसँग सञ्चालन नगरेको भन्दै उनले नगरपालिकाले नै १५ शैय्याको अस्पताल सञ्चालन गर्नुपर्ने मत राखिन् ।

कांग्रेससहित सत्ता गठबन्धनका दलहरुले भने कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न दबाव बढाए । यसै बिषयमा कांग्रेस र एमालेबीच चर्को विवाद भयो । 

नगर कार्यपालिकामा बहुमत सदस्य एमालेबाट निर्वाचित भएकाले नगर कार्यपालिको पुस १७ गतेको बैठकले बहुमतका आधारमा ५० शैय्याको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारलाई दिने अघिल्लो निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय ग¥यो । 

यस बिषयमा थप छलफल गर्न भन्नै आज २० गतेका लागि सर्वदलीय बैठक बस्ने सहमति भयो ।

५० शैय्याको अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि दबाव दिन भन्दै शुक्रबार उद्योग बाणिज्य संघले बजार बन्द आह्वान ग¥यो । नेपाली कांग्रेस सहितका राजनीतिक दलले समर्थन गरेका कारण विहानैदेखि बजार बन्द थियो ।

नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर १२ का वडाध्यक्ष रामजी राम यादवका अनुसार दलका प्रतिनिधिहरु सर्वदलीय बैठकका नगरपालिका पुग्दा नपुग्दै बैठक स्थगित भयो । आन्दोलनका बीच सर्वदलीय बैठक गर्नुको औचित्य नभएको भन्नै नगर प्रमुख कटवालले बैठक स्थगितको सूचनामा जारी गर्नुभयो । 

वडाध्यक्ष यादवका अनुसार बैठक स्थगित गरेपछि पनि मेयरको कार्यकक्षमा छलफल चलिरहेको थियो । ‘मेयरज्यूले सार्वदलीय टोली जनकपुर जाउँ र मन्त्रीसँग कुरा गरौं भन्नु भएको थियो । हामी छलफलमै थियो, बाहिर तनाव बढ्यो ।’

अस्पताल प्रदेश मातहत जानुपर्ने र स्तरोन्नति हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस सहितका दलले प्रदर्शन गर्न थाले । त्यही क्रममा भीडले नगरपालिकामा ढुंगामुढा गर्न थाल्यो ।

प्रहरीले रोकेपछि प्रदर्शनकारीहरु मेयरको घरतिर लाग्यो । नगरपालिकाबाट करिब १ किलोमिटरको दूरीमा मेयर कटवालको घर छ । मेयरको घरमा ढुंगामुढा भयो, अगाडि रहेको कारमा पनि आगजनी भयो । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी अश्रुग्याससँगै हवाइ फायर गर्‍यो ।

त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर मेयर कटवालको घरभन्दा करिव ५०० मिटर टाढाका एक युवकको मृत्यु भयो । 

वडा नम्बर ६ का वडाध्यक्ष मोहमद अफताव आलमका अनुसार जयशंकर प्रदर्शनमा सहभागी थिएनन् । विद्युत् महसुल तिर्न मोटरसाइकल चढेर विद्युत कार्यालय नजिकै पुगेका थिए । त्यही बेला प्रहरीले चलाएको गोली लागेर उनी सडकमै ढले ।

उनको मृत्युपछि प्रदर्शन थप उग्र भयो । प्रदर्शनकारीले नगरपालिको गाडीमा आगजनी गरेका छन् । नगरपालिकाको तीनवटा गाडीमा तोडफोड तथा आगजनी गरेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र सिंह थारु बताउँछन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले १९ सेल अश्रुग्यास हान्नुका साथै १३ राउण्ड हवाइ फायर गरेको छ ।

डीएसपी सिंहका अनुसार आठजना प्रहरी घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक भिखारी यादव गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको छ । मृतकको शव भने आन्दोलनकारीकै नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट