
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले भूकम्पपछिको राहत र पुनःस्थापनाका लागि विभिन्न निकायबाट रकम निकासा भएकाले सरकारले केही कानुनी प्रबन्धहरु बनाएर अघि बढिरहेको जानकारी दिनुभयो ।
‘जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार छ सय ९० लाभग्राहीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा गत कात्तिक १९ गतेको कार्यकारी प्रमुखस्तरीय निर्णय बमोजिम रुकुम पश्चिम र जाजरकोट जिल्लामा समान पाँच करोडसहित ३ अर्ब १६ करोड निकासा भएको छ’ गृहमन्त्री लेखकले भन्नुभयो– ‘जिल्ला विपद् व्यवस्थापन समितिबाट रु दुई अर्ब २५ करोड पाँच लाख २५ हजार स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा निकासा भएको छ । स्थानीय विपद् व्यवस्थापन समितिबाट प्रक्रिया पूरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ताबापत १ अर्ब ९२ करोड ५८ लाख २५ हजार लाभग्राहीको खातामा निकासा भइसकेको छ ।’
पहिचान भएका लाभग्राहीमध्ये ९ हजार ५ सय ८४ रुपैयाँ का लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट २३ करोड ९६ लाख रुपैयाँ निकासा भएको मन्त्री लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार बझाङका एक हजार दुई सय ५५ लाभग्राहीले ३ करोड १३ लाख ७५ हजार रुपैयाँ दोस्रो किस्ताबापत प्राप्त गरिसकेका छन् । अन्य जिल्लामा दोस्रो किस्ता बापतको रकम वितरण भएको प्रतिवेदन आउने क्रममा रहेको गृहमन्त्री लेखकले सदनलाई जानकारी गराउनुभयो ।
अस्थायी आवास निर्माणका लागि करिब ९० करोड ९४ लाख ७५ हजार रुपैयाँ जाजरकोट, रूकुम पश्चिम, सल्यान, बझाङ र बाजुराका जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा मौज्दात रहेको पनि लेखकले बताउनुभयो । भूकम्पपछिको पुनःनिर्माणसँग सम्बन्धित कामलाई प्रभावकारी रुपमा अघि बढाउन विभिन्न कानुनी व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।
गत वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१’ संशोधन गर्न अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएकोमा त्यसको सहमति प्राप्त भएको गृहमन्त्री लेखकले बताउनुभयो । सरकार अब वित्तीय प्रबन्धको तयारीमा रहेको उहाँको भनाइ छ ।
विभिन्न विपदबाट घर क्षतिग्रस्त भई बस्न नमिल्ने भएका विपद् प्रभावित व्यक्तिका लागि अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउने तयारी भइरहेको पनि लेखकले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन