
काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन आफ्नो राष्ट्र प्रतिवद्ध रहेको बताउनुभएको छ ।
पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा उहाँले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताउनुभयो ।
‘शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा पाकिस्तान र नेपालबीचको साझेदारीले असल प्रतिफल दिएको छ । डाक्टर, इञ्जिनियर, पत्रकार, विमान चालक लगायत सात हजारभन्दा बढी पाकिस्तानमा दीक्षित नेपालीले यो देशको प्रगतिका निम्ति आ–आफ्नो क्षेत्रबाट योगदान गरिरहेका छन्’ पाकिस्तानी राजदूतले भन्नुभयो ।
पाकिस्तान र नेपाल जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसको जोखिममा रहेका, दुवै देशका हिमालय क्षेत्र पारिस्थितिकीय रूपले कमजोर रहेका, हिमनदी पग्लने र हिमताल विष्फोट हुने जोखिम रहेको बताउँदै उहाँले दीर्घकालीन रूपमा त्यसले खाद्य र जल सुरक्षामा चुनौती थप्ने उल्लेख गर्नुभयो । उहाँले यो क्षेत्रका समुदायको हित र दिगो विकासका लागि ती चुनौतीलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
पाकिस्तान विश्वका सबै राष्ट्रसँग हार्दिक एवं शान्तिपूर्ण सम्बन्ध कायम गर्न प्रतिवद्ध रहेको बताउँदै राजदूत हास्मीले संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनाका माध्यमबाट विश्व शान्तिका खातिर पाकिस्तानले योगदान गरिरहेको बताउनुभयो ।
‘नेपाल पाकिस्तानको निकटको मित्र हो, सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी विश्वास, सम्मान, हार्दिकता र समझदार हाम्रो सम्बन्धको विशेषता बनेको छ”, पाकिस्तान र नेपालबीच भौगोलिक एवं सांंस्कृतिक समानता रहेका बताउँदै उहाँले भन्नुभयो– ‘सर्वोच्च शिखर सगरमाथा र के टु, लुम्बिनी र तक्षशिला केही नमूना हुन् ।’
पाकिस्तान र नेपालले क्षेत्रीय एवं बहुपक्षीय मञ्चहरूमा साझेदारका रूपमा काम गर्दै आएका तथा त्यो साझेदारी संयुक्त राष्ट्रसङ्घ र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा अझ विशेष रहेको उहाँले बताउनुभयो ।
व्यापार, हवाई सेवा, संस्कृति, पर्यटन, कृषिलगायत क्षेत्रमा दुई देशबीच साझेदारीका सम्झौता भएका स्मरण गर्दैै द्विपक्षीय संयन्त्रमार्फत जलवायु परिवर्तन, सूचना प्रविधि, भौतिक पूर्वाधार तथा मानव संशाधन विकासलाई अझ विस्तार गर्नेतर्फ दुवै मुलुक क्रियाशील रहेका बताउनुभयो ।
नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष मञ्जुरत्न शाक्यले दुवै देशले आपसी सम्बन्धलाई उच्च महत्व दिएका बताउँदै पाकिस्तानसँगको मुलुकको जनस्तरको सम्बन्धलाई अझ सब बनाउन सङ्गठन लागिपरेको उल्लेख गर्नुभयो । उहाँले सङ्गठनका गतिविधिबारे जानकारी दिँदै कोरोना महामारीका बेला पाकिस्तान सरकारले ४ करोड ३० लाख रुपैयाँ बराबरका औषधि तथा उपकरण सहयोग गरेको बताउनुभयो ।
समारोहमा उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद, पूर्वउपप्रधानमन्त्री सिपी मैनाली, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, उद्यमी–व्यवसायी, समाजका प्रतिष्ठित व्यक्तित्वका साथै वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
त्यस अवसरमा पाकिस्तानले सामाजिक–आर्थिक, प्राविधिक एवं सामरिक विकासमा गरेका प्रगति झल्कने वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री