
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपालका लागि अष्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा मन्त्री भण्डारीले राजदूत भोल्कलाई बधाई ज्ञापन गर्नुभएको छ । नयाँ आउने राजदूतले आगामी दिनमा समेत नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध थप विस्तार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
दुई मुलुकबीच मित्रता, सहयोग, पारस्परिक विश्वास र सम्मानमा आधारित सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो– ‘अष्ट्रेलिया नेपालको मित्रराष्ट्र हुनाका साथै विकास प्रक्रियाको महत्वपूर्ण साझेदार रहँदै आएको छ, नेपालले स्वास्थ्य, जनजीवन, शासकीय प्रबन्ध, जनशक्ति विकासलगायत क्षेत्रमा अष्ट्रेलियाबाट सहयोग प्राप्त गर्दै आएको छ ।’
अष्ट्रेलिया नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली समुदायलाई अष्ट्रेलियामा उपलब्ध सहयोगका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अष्ट्रेलियाबाट नेपालमा पर्यटक आगमनसमेत उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा पर्यटकको सङ्ख्या थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
‘नेपालको सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिलाई सहज, दिगो र अपरिवर्तनीय बनाउन र नेपालले दिगो विकासका लक्ष्य प्राप्तिका लागि थप स्रोत, प्रविधि तथा साझेदारी आवश्यक छ’ मन्त्री भण्डारीले भन्नुभयो– ‘यस सन्दर्भमा व्यापार, लगानी तथा पर्यटनलगायत क्षेत्रमा नेपालले अष्ट्रेलियाबाट थप सहयोगको अपेक्षा गरेको छ, अष्ट्रेलियामा रहेर महामहिमले यस क्षेत्रमा सहयोग पु-याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’
लगानीको दृष्टिकोणबाट समेत अष्ट्रेलिया प्रमुख मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपालमा सूचना प्रविधि, जलविद्युत्, कृषिमा आधारित उद्योगजस्ता क्षेत्रमा लगानीको प्रशस्त अवसर तथा सम्भावना रहेकाले लगानीको पहलका लागि राजदूत भोल्कसमक्ष आग्रह गर्नुभयो ।
त्यस अवसरमा राजदूत भोल्कले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन तथा शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नेपालमा आयोजना गरिएको व्यापार तथा लगानी प्रवद्र्धन समितिको पहिलो बैठक दुई मुलुकबीचको लगानी तथा व्यापार अभिवृद्धि गर्न महत्वपूर्ण हुने अपेक्षा राख्नुभयो ।
राजदूत भोल्कले अष्ट्रेलियामा रहँदासमेत नेपाल र नेपालीको हकहितको विषयमा क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । भेटघाटमा मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारी लगायत मन्त्रालयका अन्य पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीको समेत उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै