
ललितपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।
‘एनसी वुमन लिडरसिप फोरम’ द्वारा आज यहाँ आयोजित ‘निर्वाचन प्रणालीमा महिलाहरुको समान सहभागिताः वर्तमान सवाल र महिला प्रतिनिधित्वको सुनिश्चितता’ विषयक बागमती प्रदेशस्तरीय एक दिने प्रशिक्षण कार्यक्रममा उहाँले राज्यको हरेक तहमा ५० प्रतिशत महिला सुनिश्चित गर्न समानुपातिक निर्वाचन प्रणालीबाट मात्रै सम्भव नहुने धारणा राख्नुभयो ।
‘नेपाली कांग्रेसले नै महिलालाई राजनीतिमा स्थापित गराउन मुख्य भूमिका निर्वाह गरेको छ, तर पनि निर्णायक तहमा ५० प्रतिशत महिला पुग्न सकेको छैन, दक्षिण एसियामा पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी हो, उहाँलाई नेपाली कांग्रेसले मन्त्री बनाएको थियोे’ उहाँले भन्नुभयो– ‘२०६२/६३ को जनआन्दोलनमा महिलाको सङ्ख्या बढी थियो, महिलाकै बलमा आन्दोलन सफल भएको थियो । अब प्रत्यक्ष निर्वाचनमा ५० प्रतिशत महिला हरेक पार्टीमा हुनुपर्छ ।’
उहाँले आन्दोलनमा महिलाको योगदान महत्वपूर्ण हुँदाहुँदै नीति निर्माण तहमा महिला नहुँदा अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभयो । महिलाका नामबाट नागरिकता दिने व्यवस्था भए पनि सामाजिक मानसिकताका कारण अंश र वंशमा महिलाको हक अधिकार स्थापित हुन नसकेको उहाँको भनाइ छ ।
पहिलो संविधानसभामा ३४ प्रतिशत महिला प्रतिनिधित्व भएको स्मरण गराउँदै उहाँले गठबन्धन गरेर निर्वाचनमा जाँदा महिलाको प्रतिनिधित्व र पहुँच कम भएको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुषालले जनताको भावना जित्ने गरी काम गर्न महिला तयार हुनुपर्ने धारणा राख्नुभयो । उहाँले राज्यका हरेक तहमा महिलाको प्रतिनिधित्वका लागि सबै पार्टीका महिला एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
‘पार्टीभित्र जनमैत्री दृष्टिकोण र लक्ष्यका साथ क्रियाशील हुनुपर्छ, त्यसपछि हरेक सामाजिक मञ्चहरुमा स्थापित हुनसक्ने क्षमता विकास गर्नुपर्छ, भौतिक पूर्वाधारको विकासले मात्रै महिला नेतृत्व हुनसक्ने होइन, महिलाको आर्थिक समानता, शैक्षिक अवस्थाका मुद्दालाई अगाडि नबढाएसम्म महिलाको प्रतिनिधित्वका लागि पर्याप्त काम हुन सक्दैन’ उहाँले भन्नुभयो ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँले संविधानमा प्राप्त राजनीतिक अधिकार अनुसार महिला प्रतिनिधित्व गराउन सहज नभएको बताउनुभयो । उहाँले महिला प्रतिनिधित्व स्थापित गर्न निरन्तर सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
‘मन्त्रिपरिषदमा समेत देशको संविधान र कानुनले निर्धारण गरेअनुसार महिलाको प्रतिनिधित्व छैन, यसका लागि अझै सङ्घर्ष गर्नुपर्छ’ उहाँले भन्नुभयो– ‘राजनीतिमा स्थापित हुन महिलाले आफूलाई सक्षम बनाउँदै लैजानुपर्छ । महिलाले महिलाको सम्मान गर्नसक्ने अवस्था सिर्जना गर्नुपर्छ ।’
बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले महिलाले महिलालाई राजनीतिक मञ्चमा स्थापित गराउन लाग्नुपर्ने बताउनुभयो । ‘आसन, भाषण र शासनमा महिलालाई स्थापित गराउनुपर्छ, पुरुषभन्दा महिला शक्तिशाली छौँ, ३३ प्रतिशत होइन, अब ५० प्रतिशत प्रतिनिधित्व आवश्यक छ । मूल्याङ्कनको आधारमा महिलालाई राजनीतिमा स्थापित गराउन यस्ता कार्यक्रम महत्वपूर्ण हुन्छ’ उहाँले भन्नुभयो । महिलाका नेतृत्व स्थापित गराउन आर्थिक सामाजिक रुपमा महिलालाई सक्षम बनाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी