+

त्रिवि क्रिकेट रङ्गशाला स्तरोन्नतिबारे सम्वद्ध निकायबीच सहकार्य

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय परिसरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्नेबारे सम्बद्ध सरकारी निकायहरुले सहकार्य शुरु गरेका छन् ।

रङ्गशालाको स्तरोन्नतिको काम अघि बढाउन आइतबार सम्बद्ध मन्त्रालयहरु, त्रिवि र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिबीच छलफल भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्क घिसिङले जानकारी दिनुभएको छ ।  छलफलमा आवश्यक नीतिगत र भौतिक काममा समन्वय गर्ने सहमति भएको छ । 

नवगठित सरकारको पहिलो निर्णयका रुपमा मन्त्रिपरिषद्ले गत असार १३ गते आगामी ३ सय दिनभित्र त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने निर्णय गरेको थियो । क्रिकेट मैदानमा प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णयमा उल्लेख छ । ‘त्यो निर्णयअनुसारका संरचना निर्माण गर्न त्रिवि, राखेप र शिक्षा, अर्थ तथा सहरी विकास मन्त्रालयबीच समन्वय गर्नुपर्ने भएकाले संयुक्त बैठक गरेर अघि बढेका हौँ’ सदस्यसचिव घिसिङले भन्नुभयो ।

उहाँका अनुसार रङ्गशालामा फ्डलाइट निर्माण गर्न यस अघि ‘टेन्डर’ गर्ने निर्णय भएको थियो । त्यो टेन्डरबारे सार्वजनिक खरिद पुनरावलोकन समितिमा निवेदन परेका कारण प्रक्रिया स्थगित भएको हो । त्यस समितिबाट निर्णय आएपछि काम अघि बढ्ने उहाँले बताउनुभयो । यसैगरी, प्यारापिट निर्माण गर्न गुरुयोजना तयार भए पनि ठूलै बजेट आवश्यक भएकाले सहरी विकासमार्फत योजना सञ्चालन गर्ने तयारी छ । 

रङ्गशालाको स्तरीकरणका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट एसोसिएसन क्यानबीचको जग्गा भाडा सम्झौतासमेत नवीकरण गर्नुपर्ने अवस्थामा रहेको सदस्यसचिव घिसिङको भनाइ छ । त्रिविको आन्तरिक रङ्गशालाका रुपमा रहेको उक्त मैदान २०५२ सालमा २५ वर्षका लागि क्यानले भाडामा लिएको थियो । त्यसको नवीकरण र अब बन्ने संरचनाका लागि त्रिविको सहमति आवश्यक हुने उहाँले बताउनुभयो । 

बैठकमा सहभागी त्रिवि रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले संरचना निर्माणका लागि त्रिविले गनुपर्ने नीतिगत एवं व्यावहारिक निर्णयहरु शिक्षा मन्त्रालयबाट भएको पत्राचारका आधारमा गर्ने जानकारी दिनुभयो ।  त्रिविको जग्गा भाडासम्बन्धी विषय त्रिवि सभाले निर्णय गर्नुपर्ने बताउँदै उहाँले हाल त्रिविको जग्गाको उपयोग सम्बन्धमा प्रश्न उठिरहेकाले जग्गासम्बन्धी विषय संवेदनशील भएको उल्लेख गर्नुभयो ।   

क्यानका सचिव एवं पूर्वराष्ट्रिय कप्तान पारस खड्काले प्रधानमन्त्रीको निर्देशनसहित राज्यकै उच्च प्राथमिकतामा परेका कारण यसपटक क्रिकेट रङ्गशाला अन्तर्राष्ट्रिय स्तरको बन्नेमा आफू आशावादी रहेको बताउनुभयो । ‘देशमा एउटा ठूलो क्षमताको र स्तरीय रङ्गशालाको आवश्यकता धेरै अघि देखि महशुस भएको हो । त्यसका लागि अहिले सरकारले प्राथमिकता राखेको छ यो सकारात्मक छ’ उहाँले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट