
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा पाँच दशकअघिदेखि रतन जैरुले सिलाइकटाइको काम गर्दै आउनुभएको छ । यही पेशाबाट उहाँको जीविकोपार्जन हुँदै आएको छ ।
डडेल्धुराको खलङ्गाबाट ५५ वर्षअघि जैरु तराई झर्नुभएको हो । अहिले ६९ वर्ष पुग्नुभएका उहाँले भन्नुभयो, ्‘पहाडमा जीविकोपार्जनमा समस्या हुन थालेपछि रोजगारीको खोजीमा तराई झरेको हो ।’ तराई झरेको केही वर्षसम्म सङ्घर्षपूर्ण जीवन बितेको उहाँले सुनाउनुभयो ।
‘पहाडमा हुँदा अलिअलि सिलाइकटाइ सिकेको थिएँ । तराई झरेपछि अरूको पसलमा मेसिन चलाउँदै गरेको, कपडा काट्दै गरेको कार्य हेरिरहन्थेँ । त्यसबेला म १५ वर्षको थिएँ’ जैरुले भन्नुभयो– ‘हेर्दाहेर्दै मेसिन चलाउन, कपडा काटन सिकेँ । कपडा सिलाइ गर्ने पसलमा काम पाएपछि मेसिनमा कपडा सिलाउन थालेँ, बिस्तारै सिकेको सीपले अहिले सक्षम बनाएको छ ।’
सीप निखार्न भारत भारतको बरेली पुगेको अनुभव जैरुले सुनाउनुभयो । ‘बीस÷बाइसको कलिलो उमेर थियो, बरेलीमा ‘टेलरिङ’ गर्ने पसलमा बसेर एक वर्ष काम गरेँ । काम गर्दै जाँदा सीप पनि सिकिँदो रहेछ’ उहाँले भन्नुभयो– ‘पाइन्ट र सर्ट बनाउनमा निपूर्ण भएपछि आत्मविश्वास पनि बढ्दै गायो ।’ उहाँले त्यतिले व्यावसायिक सिलाइकटाइ गर्न नपुग्ने ठानेर कोटपाइन्ट, सुट बनाउने सीप सिक्न विसं २०३४ मा भारतको लखनऊ पुगेको स्मरण गर्नुभयो ।
दुई वर्ष लखनऊमा बसेर जैरुले कोटपाईन्ट बनाउनमा दक्षता हासिल गरेपछि स्वदेश फर्किएको बताउनुभयो । एक वर्ष महेन्द्रनगर बजारमा अरुको पसल अगाडि बसेर सिलाइकटाइ गरेको सुनाउँदै उहाँले विसं २०३७ देखि झलारी बजारमा सिलाइकटाइ पसल राखेर काम थालेको उल्लेख गर्नुभयो ।
हालसम्म यही पेशालाई निरन्तरता दिएको बताउँदै जैरुले अहिले झलारी बजार क्षेत्रमा कोटपाइन्ट, सर्टमा सबैभन्दा राम्रो ‘फिनिसिङ्ग’ दिने टेलरका रुपमा परिचति भएकामा खुसी लाग्ने गरेको सुनाउनुभयो । ‘पहिला बजार क्षेत्रमा सिलाइकटाइ गर्ने प्रतिस्पर्धी थोरै हुँदा आम्दानी प्रशस्त थियो’ उहाँले भन्नुभयो– ‘महिनाको ५०÷६० हजार रुपैयँँमाथि कमाई हुन्थ्यो, अहिले बजार बढ्दै गएको छ, उमेरले पनि पहिलाको जस्तो साथ दिँदैन ।’ अहिले मासिक ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।
जैरुले चार बहिनी, पाँच भाइको विवाहका साथै दुई छोराको सबै खर्च सिलाइकटाइबाट भएको आम्दानीले गराउनुभयो भने झलारी बजारमा घर र घरेडी जोड्नुभएको छ । सीप सिकेर आत्मनिर्भर भई व्यावसायिक रुपमा काम थालेपछि पैसाको कहिल्यै समस्या नपरेको अनुभव उहाँसँग छ । सीप सिकेर लगनशील भई कार्य गरे आत्मनिर्भर भइने उहाँको बुझाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै