
काठमाडौँ । गृहमन्त्री रमेश लेखक र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहीआएको उल्लेख गर्दै विदेश सचिव मिस्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
भारत नेपालको सुरक्षा, पूर्वाधार, उर्जा, जलश्रोतलगायतका क्षेत्रमा महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित नेपालको पूर्वाधार निर्माणमा पु-याएको सहयोगका लागि विदेश सचिव मिस्रीलाई धन्यवाद दिनुभयो । त्यस अवसरमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गृहमन्त्री लेखकले नेपालमा भारत सरकारबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाउँदै सीमाक्षेत्रमा देखिने गरेको अपराध र लागूऔषध अवैध कारोबार नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य बढाउनुपर्ने विषयमा विशेष जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा भारतीय विदेश सचिव मिस्रीले सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने स्पष्ट पार्नुभयो । साथै उहाँले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । सचिव मिस्रीले गृहमन्त्री लेखकको कार्यकालको सफलताको शुभकामना दिँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र भारतबीच सांस्कृतिक लगायत धेरै समानता रहेको उल्लेख गर्दै उहाँले आगामी दिनहरुमा पनि यो सम्बन्ध अझै प्रगाढ हुने उल्लेख गर्नुभयो ।
भारतीय विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार यहाँ आइपुग्नुभएको हो । विदेश सचिव मिस्री दुईदिने भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्किनुहुने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै