
नवलपुर । गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक २ लाख आम्दानी गर्दै आउनुभएको छ । ३ वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन शुरु गर्नुभएको हो ।
एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताउनुभयो । पछिल्लो दुई महिनामा ३ लाख ६० हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।
एउटा ब्याडमा गँड्यौला राखेको दुई महिनामा मल तयार हुने भन्दै प्रतिब्याड ३० हजार रुपैयाँ आम्दानी भइरहेको रिमालले उल्लेख गर्नुभयो । प्रतिब्याडमा दुई ट्याक्टर मल, श्रमिकको ज्याला, प्याकिङका लागि प्लास्टिकसहित करिब १५ हजार लागनी हुने जनाउँदै २ महिनाभित्र प्रतिब्याडबाट १२ क्विन्टलसम्म मल उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।
रिमालका अनुसार प्रतिकिलो २५ रुपैयाँका दरले गँड्यौलाको मल बिक्री हुन्छ । ‘मैले दुई किलो र पाँच किलोको ‘प्याकेट’ बनाएर प्रतिकिलो २५ का दरले बिक्री गर्दै आएको छु’ उहाँले भन्नुभयो– ‘त्यसबाहेक खुला मल २५ किलो र ५० किलोको बोरामा राखेर बिक्री गरिरहेको छु ।’
गैँडाकोटमा उत्पादित गँड्यौलाको मल जिल्लाका अधिकांश एग्रोभेट, नर्सरीमा खपत हुने गरेको भन्दै केही गोरखा र चितवन जिल्लामा बिक्री गर्दै आएको किसान रिमालले जानकारी दिनुभयो । उत्पादन भएको एक वर्षसम्म गँड्यौलाको मलमा विभिन्न १६ प्रकारका तत्व रहने भन्दै कृषकले एक वर्षसम्म मल प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो ।
‘किसानले गँड्यौलाको मलको महत्व नबुझेकाले आफैँले गाडीमा राखेर पसलमा पु¥याउने गरेको छु’ रिमालले भन्नुभयो– ‘गँड्यौलापलनबाट जीविकोपार्जनमा सहज भएको छ । मेहनत गरेअनुसार आम्दानी पनि भइरहेकाले खेतबारीमा काम गर्न रमाइलो लाग्छ ।’ गँड्यौलापालन भएको ठाउँमा टनेल निर्माण गरिएको भन्दै मनसुन सकिएपछि टनेल बाहिरसमेत गँड्यौला पाल्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।
‘अहिले हरेक १० दिनमा १२ क्विन्टल मल तयार हुने गरेको छ’ उहाँले भन्नुभयो– ‘उत्पादित मल प्याकिङ गरेपछि आफँैले गाडीमा राखेर बिक्रीका लागि बजारमा लैजाने गरेको छु ।’ पशुपालक किसानको फार्मबाट गाईको मल ल्याएर राखेको छ दिनसम्म मललाई बाहिर चिसो बनाइसकेपछि ब्याडमा राखेर त्यसमाथि गँड्यौला राखेपछि मल तयार हुने उहाँले उल्लेख गर्नुभयो ।
‘ब्याडमा प्लास्टिक राखेपछि त्यसमाथि बाहिर चिसो बनाएको मल मिलाएर राख्नुपर्छ’ रिमालले भन्नुभयो– ‘मल राखेपछि माथिबाट गँड्यौला राखेर जुटको बोराले छोप्नुपर्छ । बेलाबेलामा पानी छम्किँदै गएपछि मल तयार हुन शुरु हुन्छ ।’ ब्याडमा मल राखेको ३० दिनपछि मल निकाल्न शुरु गरिने उल्लेख गर्दै उहाँले ६० दिनमा ब्याडको सबै मल निकालेर बिक्री गर्न तयार हुने जानकारी दिनुभयो ।
ब्याडबाट निकालिएको तयारी मललाई कृषि ज्ञान केन्द्र नवलपुरले ७५ प्रतिशत अनुदानमा दिएको मेसिनले छानेर प्याकिङ गरेपछि बजारमा पठाउँदै आएको रिमालको भनाइ छ । पोखराबाट ल्याएको ३ किलो गँड्यौलाबाट व्यावसाय शुरु गरेको स्मरण गर्दै उहाँले कुनै औपचारिक तालिम नलिएको जानकारी दिनुभयो ।
रिमालले भन्नुभयो– ‘तीन वर्ष अघि प्रतिकिलो रु दुई हजार पाँच सयका दरले गँड्यौला किनेर ल्याएको थिएँ । तालिम वा कुनै व्यावसायिक ज्ञान थिएन । युट्युब हेर्दै गँड्यौलापालनलाई अगाडि बढाएँ ।’ अहिले गँड्यौलापालन गर्न इच्छुक कृषकलाई प्रतिकिलो १ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । साथै कृषकलाई गँड्यौलापालन सम्बन्धी तालिम निःशुल्क प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
फार्मबाट उत्पादित गँड्यौलाको मललाई प्रयोगशालामा परीक्षण गर्दा माटोलाई आवश्यक पर्ने नाइट्रोजन, फसफोरस, पोटास, कपरसहित विभिन्न १६ तत्व भएको प्रमाणित भएपछि बजारमा पठाउन शुरु गरेको रिमालले जानकारी दिनुभएको छ । यहाँका कृषक तथा सङ्घसंस्थालाई गँड्यौलाको मलबारे प्रशिक्षण दिएपछि गैँडाकोट इङ्लिस स्कुल, हुप्सेकोट गाउँपालिकाको झ्यालबास, मौलाकालिका मन्दिरलगायत स्थानमा व्यावसायिक गँड्यौलापालन शुरु भएको उहाँले उल्लेख गर्नुभयो ।
गाईको गोबरबाट मात्रै नभई भान्साबाट निस्कने कुहिने फोहरबाटसमेत गँड्यौलाको मल तयार पार्न सकिने भन्दै रिमालले यसबाट फोहर उत्सर्जनमा समेत कमी आउने बताउनुभयो । स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गर्न सरोकार भएकाले गँड्यौलापालन, पशुपालन, तरकारीखेती लगायत क्षेत्रमा लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै