+

राष्ट्रको अस्तित्वमा खिया लाग्यो, अब सबै एकै ठाउँमा उभिऔँ : पूर्वराजा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीले खेपिरहेको समस्या र पीडालाई नजिकबाट नियालिरहेको बताउनुभएको छ । पूर्वराजा शाहले बिहीबार भैरहवामा आयोजित कार्यक्रममा सबै जनता एक ठाउँमा उभिन अपिल समेत गर्नुभएको छ । 

पूर्वराजालाई भैरहवामा बिहीबार ‘राजा आउ देश बचाउ’ को नारासहित अभिनन्दन गरिएको छ ।  पूर्वराजाले अभिनन्दनपश्चात सम्बोधन गर्दै ‘केही शब्द बोल्ने मौका मिलेकोमा खुशी लागेको’ बताउनुभयो ।  ‘आज हामी कताकता हराइरहेका छौं । कताकता आफैं हारिरहेका छौं । म जता जाउँ, जहाँ पुगुँ, जनआवाज उठेको सुन्छु’ उहाँले भन्नुभयो– ‘मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ, देशको सभ्यता र समृद्धी बढाउ । यहाँ उभिएर म भन्दछु । म बोलिरहेछु । देश बनोस, देश बचोस भन्ने आफ्ना पुख्र्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु । म कतै अन्त गएको छैन । सदा–सदा नेपालीको साथमा छु । नेपालभित्रै छु । नेपालीहरुको सुखदुख, सुविधा–असुविध वाधा पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’

मुलुकमा युवा बाहिरिनुपर्ने अवस्था आएकोमा पूर्वराजा शाहले आक्रोश व्यक्त गर्नुभयो । ‘समाज कानुन र व्यवस्थाबिना अस्तित्वमा रहनु हुँदैन । देश सग्लो र बलियो रुपमा अघि बढ्नुपर्छ । तर आज देश जर्जर भएको छ । बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिएको छ । देशको माया नभएर होइन, अस्वस्था बिगागेर, असन्तोष, आक्रोश तथा विवश भएर हाम्रा युवा बाहिरिएका छन् । यस्तो अवस्थाको अन्त्य हुनैपर्छ’ उहाँले भन्नुभयो – ‘ देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नु परेको छ । देशलाई खोक्रो पार्ने चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्छ । राष्ट्रिय उत्साह प्रतिभाको महान निवास हो । वीरता, पराक्रम, पुरषार्थ र उच्च मूल्य–मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, छड्के आँखाले हेर्ने अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूत गरेका छन् ।’

पूर्वराजाले राष्ट्रको अस्तित्वमाथि खिया लागिरहेको समेत उल्लेख गर्नुभएको छ ।  ‘हाम्रा बूढापाका, अनुभवीहरुको विचार भन्नुपर्दा हाम्रो राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ । हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौँ’ उहाँले भन्नुभयो – ‘हाम्रो विचारमा यसप्रकार हामी खिइदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौं । नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ–बायाँ, भित्री तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने भाष्य हामीकहाँ छ ।’

पुर्वराजा शाहले नेपाल राष्ट्रको एकीकरणदेखि व्यवस्था परिवर्तन सबै जनताकै बलमा भएको स्मरण गरउनुभयो । ‘हामीलाई लाग्छ, नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रक्रिया हामी नेपालीहरुकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भइआएका हुन्’ उहाँले भन्नुभयो– त्यसैले के गर्दा र के–कस्तो विधि–अवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ, त्यो हामी आफैंले तय गर्ने विषय हो । हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनुपर्छ भन्ने हामीलाई लाग्छ । त्यसैले म भन्छु, आउ अब हामी सबै एकै ठाउँमा उभिऔं ।’ 

पूर्वराजा शाहले मुलुकको समृद्धिको लागि मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने भनाई व्यक्त गर्नुभयो । ‘अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौं । देश हामीले नै बनाउने हो । हाम्रो स्रोत र साधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो’ उहाँले भन्नुभयो – हामीमात्र ठीक अरु बेठीक, हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिँडौं । हामी सबैको भविष्य सुख(शान्ति यसैमा छ । विगतका सबै दुख विर्सिदिउँ, मायाले मायालाई भरिदिउँ । घृणाको आगोलाई कतै जलाइदिउँ । भाग्यको सीमा हुँदैन । हुनु पनि हुँदैन । अब भाँचिएको टुक्राहरु जोडिदिउँ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय अत्याचारबाट मुक्त गरिदिउँ । अनुहार फेरि–फेरि षडयन्त्र नगर । त्यस्ताको चालबाट आफूलाई बचाइदिउँ ।’



 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै