
कैलाली । सुदूरपश्चिम प्रदेशमा माछापालनमा किसानको आकर्षण बढेपछि माछाका भुराको माग बढ्दो छ । यहाँका करिब २ सय बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ ।
प्रदेश सरकार मातहतका कैलालीको गेटास्थित मत्स्य विकास केन्द्रले मागअनुसार भुराको उत्पादन वृद्धि गर्न सकेको छैन । केन्द्रले माग धान्न नसकेपछि यहाँका माछापालक किसान महँगोे मूल्य तिरेर निजी फार्मबाट भुरा खरिद गर्न बाध्य छन् । भुरा उत्पादन गरेर किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले सरकारले ५० वर्षअघि गेटामा मत्स्य विकास केन्द्र स्थापना गरेको थियो । किसानको माग बढ्दै गए पनि केन्द्रले भुराको उत्पादन वृद्धि गर्न नयाँ पोखरी थप्ने र पुराना पोखरी मर्मत गर्न सकेको छैन ।
मत्स्य विकास केन्द्रबाट किसानले मागअनुसार भुरा पाउन नसकेको घोडाघोडी नगरपालिकाका माछापालक किसान एकिन्द्र शाहीले बताउनुभयो । उत्पादन वृद्धि गर्न नसकिएपछि सुदूरपश्चिममा खपत हुने भुराको ५० प्रतिशत माग मात्र केन्द्रले धानिरहेको मत्स्य विकास केन्द्रका सूचना अधिकारी सरोजराज रेग्मीले बताउनुभयो । पूर्वाधारका कारण भुराको उत्पादन बढाउन नसकिएको उहाँको भनाइ छ । केन्द्रले गत आव २०८०÷८१ मा चार करोड भुरा बिक्री गरेको थियो ।
‘प्रशस्त प्राकृतिक तालतलैया रहेका कैलाली, कञ्चनपुरमा माछापालन व्यवसायमा किसानको आकर्षण बढ्दो छ, त्यसैले भुराको माग बढेको छ’ रेग्मीले भन्नुभयो– ‘तर पूर्वाधारका कारण मागअनुसार भुरा उत्पादन बढाउन सकेका छैनौँ ।’ उहाँले नयाँ पोखरी निर्माण र भएका पोखरी मर्मत गर्न नसक्दा किसानको मागअनुसार भुरा उत्पादन गर्न नसकिएको जानकारी दिनुभएको छ ।
पुराना पोखरी मर्मत र निर्माणका लागि प्रदेश सरकारसँग हरेक वर्ष बजेट माग गरे पनि नपाएको रेग्मीको भनाइ छ । पोखरीको मर्मत र नयाँ पोखरी निर्माण गर्न सके मागको ७० देखि ७५ प्रतिशतसम्म भुरा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ । केन्द्रको २० बिघा जमिनमध्ये १२ बिघामा पोखरी छन् ।
केन्द्रले फागुनदेखि भदौसम्म माछाको प्रजनन गराएर ७ जातका भुरा उत्पादन गर्दै आएको छ । केन्द्रमा ह्याचलिङ, फ्राई, फिङ्गरलिङ र एडभान्स फिङ्गरलिङ साइजका भुरा उत्पादन गरी बिक्रीवितरण हुने गरेको छ । केन्द्रमा उत्पादित भुरा सुदूरपश्चिमका नौ जिल्लालगायत कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनीको बर्दिया, दाङसम्मका किसानले लैजाने गरेको केन्द्रले जनाएको छ ।
सरकारी तथ्याङ्कअनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर माछा उत्पादनको प्रमुख जिल्लाका रूपमा विकसित हुँदै गएको मत्स्य विकास केन्द्र गेटाले जनाएको छ । सुदूरपश्चिममा माछाको खपत बढ्दै गएको छ । एक व्यक्तिले वार्षिक सरदर साढे दुई किलो माछा उपभोग गर्दै आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । माछापालक कृषकले समयमा माछाको भुरा, दाना, औषधिलगायत नपाउने समस्या रहेको बताएका छन् । माछा व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गए पनि बजारीकरणमा समस्या झेल्नुपरेको छ ।
कैलाली र कञ्चनपुरमा मात्रै वार्षिक ४ हजार ८ सय मेट्रिक टन माछा खपत हुने गरेको छ । केन्द्रका अनुसार प्रदेशभरि वार्षिक करिब १० हजार मेट्रिक टन खपत हुने गरेको सरकारी तथ्याङ्क छ । मत्स्य विकास केन्द्रका अनुसार कैलाली र कञ्चनपुरमा १ हजार ७ सय ५० हेक्टर जमिनमा रहेका पोखरीमा माछापालन गरिँदै आएको छ । तीमध्ये १ हजार ३ सय हेक्टर प्राकृतिक र २ सय ५० हेक्टर कृत्रिम ताल छन् ।
कृत्रिम तालमा प्रतिहेक्टर वार्षिक ३ मेट्रिक टन र प्राकृतिक तालमा प्रतिहेक्टर एक मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । सुदूरपश्चिममा ग्रासकार्प, सिल्भरकार्प, विगेटकार्प, रौ, नैनी र भाकुर जातका माछापालन हुने गरेको छ ।
एक दशकअघिसम्म यी दुई जिल्लामा करिब ९० प्रतिशत भारतबाट आयात हुने माछा खपत हुने गरेकामा हाल आन्तरिक उत्पादन वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९ र ८० मा ३ करोड २० लाख ह्याचरी उत्पादन गरिएकामा गत आव २०८० र ८१ मा ४र करोड ह्याचरी उत्पादन गरेको केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै