
गण्डकी । पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुशियाली छाएको छ । मालेपाटनसँगै यहाँका बडहरे, देउराली, खड्का गाउँ, डोटेल कुना लगायत स्थानका बासिन्दालाई वडा कार्यालयका साथै गण्डकी विश्वविद्यालयसँगको पहुँच सहज बनाएको हो ।
पुल निर्माणले मालेपाटन क्षेत्रका बालिबालिकालाई ब्रम्हरुपा माध्यमिक विद्यालयसम्म पुुग्न सहज भएको स्थानीय ब्रम्हरुपा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डितले बताउनुभयो । झोलुङ्गे पुल निर्माणले मालेपाटन र आसपासका सर्वसाधारणलाई पृथ्वीराजमार्गअन्तर्गतको तल्लो गगनगौडा पुग्न सहज भएको उहाँले जानकारी दिनुभयो ।
गण्डकी सरकारको एक करोड ७ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुभएको छ । पुल निर्माणसँगै यस क्षेत्रका स्थानीयको आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज भएको उहाँको भनाइ छ ।
मर्मत नहुँदाको सास्ती
दुुई वर्षअघि जग भत्किएको मालेपाटनबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने फुर्सेखोलामाथिको झोलुङ्गे पुल हालसम्म मर्मत नहुँदा त्यो पुलबाट आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।
पुलको जग भत्किँदा मालेपाटनसहित तनहुँको सेराबेँसीलगायत ठाउँका सर्वसाधारण समस्यामा परिरहेका स्थानीय तारानाथ रिजालले बताउनुभयो । नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित एक सय १९ मिटर लम्बाइको पुल ४१ लाख २५ हजार ५ सय २८ रुपैयाँमा बनेको थियो ।
संरक्षणको अभावमा वर्षेनी फुस्रेखोलामा वर्षासँगै आउने बाढी र कटानले पुल भत्किएको स्थानीय महेश्वर पौडेलले उल्लेख गर्नुभयो । यस क्षेत्रमा आवतजावत गर्न पुल अत्यावश्यक रहेको बताउँदै उहाँले यसतर्फ राज्यको ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकसँगै भुजिकोट लगायत स्थानका बासिन्दाका लागि यो पुल आवश्यक भएको स्थानीय नारायण पाण्डेले बताउनुभयो ।
पुलको जग मर्मत गर्न पहल भएको बताउँदै पोखरा–३२ का वडाध्यक्ष कार्कीले यसका लागि प्रदेश सरकारबाट ३२ लाख रुपैयाँ विनियोजन भएको जानकारी दिनुभयो ।
पुलको मर्मतसँगै यसको केही माथिबाट अर्को पुलको निर्माण गर्ने योजनासहित पहल भइरहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै