
महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रमा आज लगपाँचे पर्व मनाइँदै छ ।
मिथिला क्षेत्रका महोत्तरी, महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा पर्सासहित भारतको मधुबनी, दरभङ्गा, सीतामढी, मुजफ्फरपुर र पटनाका गाउँबस्तीमा आज लगपाँचे पर्व मनाउने गरिन्छ ।
मिथिलाका गाउँटोलको प्रत्येक घरमा आज विषहरा बाबा (नाग देवता) को विशेष पूजाअर्चना हुने गर्दछ । यो पर्वलाई विषहरा महारानी पनि भन्ने प्रचलन छ ।
मिथिलानीले आज बिहानै आ–आफ्ना घर, आँगन गाईको गोबरले लिपपोत गरी सफा बनाएका छन् । यहाँका महिलाले प्रत्येक घरमा माटोको चुल्होमा पाकेको धानलाई माटोको भाँडोमा भुटेर लावा तयार गराई लावा, गाईको दूध, सिन्दुर, अक्षता, आँपको अचारसहित पूजा सामग्रीले नाग देवताको पूजा गरी यो पर्व मनाइरहेका जलेश्वर–८ का पण्डित उपेन्द्र पाठकले जानकारी दिनुभयो ।
मिथिलानीले गाउँको वन वा भिरालो जमिन नजिक सर्पको दुलो खोजी सोही स्थानमा केराको पातमा आँपको अचार, लावा, दुध, सिन्दुर र अक्षता लगायत पूजा सामग्री चढाएर नाग देवतालाई भोग (खान) का लागि आह्वान गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।
नाग देवता वा सर्पलाई पूजा सामग्री ग्रहणका लागि आह्वान गर्दै ‘हे विषहरा बाबा, हे विषहरा महारानी, मैले तपाईंको पूजा गर्दै खानाका सम्पूर्ण वस्तु चढाएको छु । तपाईंले मेरो कुल परिवारका कसैलाई कहिले कुनै दुःख नदिनु, सधैँ सबैको रक्षा गर्नुहोला’ भनी आराधना गर्ने प्रचलन रहेको पण्डित पाठकले जानकारी दिनुभयो ।
‘मिथिलानीले सबैभन्दा पहिला आँपको अचार चढाउँछन् । यसको अर्थ सर्पले परिवारका कुनै पनि सदस्यलाई टोक्न आउँदा सर्पको दाँत अमिलो भएर टोक्न नपाओस् भन्ने हो । त्यसपछि सर्पको पेट भर्न लावा, दूध, अक्षता र श्रृङ्गारका लागि सिन्दुर चढाउँछन्’ उहाँले भन्नुभयो ।
आजको राति मिथिलाको प्रत्येक घरका कोठामा धानको लावा छर्किएर सुत्ने प्रचलन रहेको जलेश्वर–६ का सीतादेवी मिश्रले बताउनुभयो । ‘भोलि बिहान उठेर हेर्दा लावा हराउने विश्वास लिइन्छ’ उहाँले भन्नुभयो– ‘राति छर्किएको लावा रात परेपछि विषहरा बाबारविषहरा महारानी तथानाग देवीरदेवताले आएर खाइदिने गरेको जनविश्वास छ ।’
लगपाँचे पर्वपछि मिथिलामा आजैदेखि वर्षभरिका पर्व सुरु हुने गर्दछन् । ‘भेल लगपाँचे, लागल सब पवनी नाचे’ अर्थात् लगपाँचे भए लगत्तै अब मिथिलामा सबै पर्व सुरु हुन्छन् भनी यो पर्व मनाउने गरिएको मिश्रले जानकारी दिनुभयो । ‘लगपाँचेका दिन मिथिलाको कुनै पनि घरमा रोटी पाक्दैनन् भने कसैले दूध पनि खाँदैनन् । आजका दिन विषहरा बाबारमहारानीले मात्रै दूध खाने जनविश्वास छ’ उहाँले भन्नुभयो ।
लगपाँचे पर्वले सर्पबाट हुने हानीबाट परिवारका सदस्यलाई जोगाउने साथै यसको समापनपछि मिथिलामा अन्य पर्व सुरुवात हुने भएकाले यसलाई धुमधामका साथ मनाउने गरिन्छ ।
यहाँका कतिपय गाउँमा विषहरा बाबारमहारानीको मन्दिर स्थापना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै