+

राजनीतिक स्थिरताका लागि कांग्रेस–एमाले गठबन्धन

महोत्तरी ।  नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गठबन्धन राजनीतिक स्थिरताका लागि भएको बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकलाई राजनीतिक स्थिरता दिन संसद्का दुई ठूला दल सहभागी भइ सरकार गठन भएको बताउनुभयो । 

सामान्यतया बहुदलीय पद्धतिमा संसद्को सबैभन्दा ठूलो दल र दोस्रो ठूलो दलहरु सरकारमा र प्रतिपक्षी भूमिकामा हुने अभ्यास भए पनि विशिष्ट जिम्मेवारी निर्वाहका लागि अहिलेको सरकार बनेको उहाँले स्पष्ट पार्नुभयो ।

‘बहुदलीय पद्धतिमा झट्ट हेर्दा, बुझ्दा नौलो जस्तो त लाग्न सक्छ’ नेता घिमिरेले भन्नुभयो– ‘तर संसदमा कुनै दलको स्पष्ट बहुमत नरहेको अहिलेको संसदमा पटक–पटक गठबन्धन बन्ने र भत्कने क्रमले राजनीतिक स्थिरतामै प्रश्न उभिएपछि दुई मुख्य ठूला दलले संयुक्त सरकार बनाएका हुन् ।’ अहिलेको सरकारको मुख्य कुरा नै आमजनतामा राजनीतिक स्थिरताको अनुभूति दिनु रहेको उहाँको भनाइ छ ।

वर्तमान सरकार बनेपछि मुलुकमा अब राजनीतिक स्थिरता बन्छ भन्ने सन्देश प्रवाह भएपछि आर्थिक गतिविधि सुधारात्मक दिशामा अघि बढेको उहाँले उल्लेख गर्नुभयो । ‘केही दिन पहिले मौद्रिक नीति सार्वजनिक भयो, त्यसले सकारात्मक प्रभाव पारेको अर्थविद् बताउँदैछन्, पुँजीबजारमा पनि उत्साह देखिएको छ’ नेता घिमिरेले भन्नुभयो– ‘मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार बनेको हुँदा अब असफल हुने वा पछि पर्ने छुट सरकारलाई छैन ।’

उहाँले राजनीतिक दलहरुबीचको संवाद र सहमतिले संविधान संशोधन हुनसक्ने बताउनुभयो । ‘संविधान कुनै ग्रन्थ वा कथा होइन, यो त मुलुकलाई निर्देशित गरिरहने गतिशील दस्तावेज हो, त्यसैले आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ’ उहाँले भन्नुभयो । 

संविधान संशोधन गणतन्त्रात्मक लोकतान्त्रिक पद्धतिलाई अझ बलियो र समय सापेक्ष बनाउन गरिने घिमिरेको भनाइ छ । ‘विश्वका प्रजातान्त्रिक मुलुकहरुले सयौं पटक संविधान संशोधन गरिसकेका छन् । हामीले पनि यसअघि यसै संविधानमा दुईपटक संशोधन भइसकेको छ’ उहाँले भन्नुभयो– ‘अब पनि मुलुकको आवश्यकताका लागि दलबीचको सहमतिबाटै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट