
कैलाली । पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ । व्यक्ति विशेष, मुक्त कमैया, बाढीपीडित, सुकुम्बासी, पहिरोपीडितका नाममा तथा संस्थागत रूपमा वन क्षेत्र अतिक्रमण हुन थालेपछि वनको क्षेत्रफल घट्दै जान थालेको हो ।
बढ्दो वन अतिक्रणसँगै विभिन्न बहानामा वर्षेनी कैलालीको वनको क्षेत्र घट्दै जान थालेपछि तराईमा बाढी र डुबानको खतरा बढ्दै गएको छ । कैलालीका १३ स्थानीय तहका विभिन्न स्थानमा वन अतिक्रमणगरी घरटहरा निर्माण भइरहे पनि डिभिजन वन कार्यालयले अतिक्रमण हटाउन चासो दिएको छैन ।
हरेक वर्ष जिल्लामा भइरहको अतिक्रमण हटाउन कार्ययोजना बनाएर बजेट विनियोजन गरिए पनि सो काम अघि बढ्न नसकेकामा संरक्षणर्मीले चिन्ता व्यक्त गर्दै आएका छन् । जिल्लाका गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाको फूलबारी, कैलारी गाउँपालिकाको वसन्ता वनक्षेत्र, भजनी नगरपालिकालगायतका क्षेत्रमा वन अतिक्रमणगरी घरटहरा निर्माण गर्नेक्रम बढ्दै गएको जनाइएको छ ।
कैलालीमा सबैभन्दा बढी वसन्ता वनक्षेत्र बाढीपीडितका नाममा अतिक्रमणको चपेटामा परेको छ । वसन्ता क्षेत्रमा बाढीपीडितका नाममा हुलाकी मार्ग किनारमा वन अतिक्रमण गरी घरटहरा निर्माण गरिएका छन् । वन अतिक्रमणले वसन्ता जैविकमार्गको ‘कनेक्टीभिटी’ जोखिममा पर्नुका साथै वन क्षेत्र खण्डित भइरहेकाले वन्यजन्तुको बासस्थान विनाश भइरहेको, अवैध चोरी निकासी–तस्करी र शिकारलगायतका क्रियाकलापले वन संरक्षणमा चुनौती थपिएको डिभिजन वन कार्यालय धनगढीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।
उहाँले वन अतिक्रमण हटाउन वन कार्यालयको एक्लो प्रयासले मात्र सम्भव नभएकाले राजनीतिक दलहरुको प्रतिबद्धतासहित सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताउनुभयो । कैलालीमा कूल क्षेत्रफलको दुई लाख पाँच हजार नौ सय ३९ हेक्टर वन रहेको छ । तराई र भावर क्षेत्रमा एक हजार नौ सय ३१ वर्गकिलोमिटर तथा चुरे क्षेत्रमा एक हजार तीन सय तीन दशमलव सात वर्ग किलोमिटर वन रहेको तथ्याङ्क छ ।
सुदूरपश्चिममा सबैभन्दा बढी वनक्षेत्र कैलाली र कञ्चनपुरमा रहेको छ । वन विनाश र अतिक्रमणको समस्या पनि अन्य जिल्लाको तुलनामा यी दुई जिल्लामा बढी रहेको तथ्याङ्कले देखाएको छ । कैलालीमा हालसम्म २५ हजार हेक्टर बढी वन क्षेत्र अतिक्रमण भएको अनुमान गरिएको छ । सरकारी तथ्याङ्कले भने २१ हजारभन्दा बढी वन अतिक्रमण भएको देखाउँछ । तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलालीको वन क्षेत्र अतिक्रमण भएको देखाएको छ ।
कैलालीमा बढ्दो सहरीकरण, प्रदेशको राजधानी, स्वास्थ्य, शिक्षा, यातायात लगायत सुविधाका कारण पहाडबाट बसाइँ सर्ने दर अत्यधिक छ । बसाइँ सरेर आएका अधिकांशले विभिन्न बहानामा वन अतिक्रमण गरी घरटहरा निर्माण गर्ने गरेको वन प्राविधिकको भनाइ छ ।
कैलालीमा निर्माणाधीन स्थानीय, राष्ट्रिय र प्रदेश गौरवका आयोजनाका कारण वन मासिने क्रम बढ्दै गएको छ । दिनानुदिन भएको वनक्षेत्र मासिँदै जाने, संरक्षणमा ध्यान नदिने हो भने भविष्यमा यसको असर गम्भीर देखिने खतरा बढेको वन संरक्षणकर्मी हेम विष्टको भनाइ छ ।
यसैगरी डिभिजन वन कार्यालय पहलमानपुरले गत आर्थिक वर्षको असारमा भजनी नगरपालिकाका वडा नंम्बर ३, ५, ७ र ९ का बाढीले विस्थापित भएर भजनी बजारछेउमा रहेको जङ्गल क्षेत्रमा बस्दै आएका करिब ७ सय टहरा डोजर लगाएर हटाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै