+

लोपोन्मुख सामग्री संरक्षणका गर्न सङ्ग्रहालय

म्याग्दी । लोपोन्मुख सामग्रीहरुको संरक्षण गर्दै पर्यटक आकर्षित गर्न म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा सङ्ग्रहालय स्थापना भएको छ ।  

गाउँपालिकाको केन्द्र समेत रहेको बाबियाचौरस्थित मङ्ग्रला इन्द्रेणी पार्क (उद्यान) परिसरको भवनमा सङ्ग्रहालय स्थापना गरिएको हो । लोप हुन लागेका सामग्रीको संरक्षण, उद्यानको आकर्षण बढाउने र पर्यटन प्रवद्र्धन गर्न सङ्ग्रहालय स्थापना गरिएको मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले बताउनुभयो ।  

‘दुई तले भवनको माथिल्लो तलामा सजावट गरेर तयार पारिएको सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको जीवनशैली, रहनसहन, वेशभूषा झल्कने सामग्री सङ्कलन गर्न थालिएको छ’ उहाँले भन्नुभयो– ‘गत आर्थिक वर्षमा विनियोजन भएको १० लाख खर्चेर सङ्ग्रहालयका बनाइएको कोठामा सजावट र सामान राख्ने ठाउँ बनाएका छौँ ।’

सङ्ग्रहालयमा राख्नका लागि परम्परागत सामग्री, पोशाक, हातहतियार, भाँडा, गहना, पुस्तक, धातुका सिक्का लगायत सामग्री सङ्कलन गर्न थालिएको हो । बाबियाचौर घर भई हाल काठमाडौँ बस्दै आएका इन्द्रबहादुर अधिकारीले उपलब्ध गराएको चार रोपनी, गाउँपालिका र मङ्गला युवा क्लबले खरिद गरेको १० आना जग्गामा सार्वजनिक शौचालय, सामुदायिक भवनसहितको उद्यान निर्माण भएको थियो । 

बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर उद्यान बनाउन गाउँपालिका, गण्डकी प्रदेश र समुदायको १ करोडभन्दा बढी लगानी भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफूले जनप्रतिनिधीको हैसियतमा राज्यबाट पाएको सुविधाबाट उद्यान बनाउन १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । 

विभिन्न प्रजातिका बिरुवा रोपिएको, दुबो बिछ्याइएको, बालबालिका खेल्ने र ज्येष्ठ नागरिक बस्ने सुविधा भएको उद्यान परिसरमा सङ्ग्रहालय भवन रहेको छ । खानेपानी, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय लगायत पूर्वाधार रहेको छ । 

गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि पार्क प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष रोकाले बताउनुभयो ।  

उद्यानको हेरचाह र व्यवस्थापनका लागि गाउँपालिकाले एकजना कर्मचारी नियुक्त गरेको छ । बाबियाचौर बजारको बायाँ किनारमा म्याग्दी नदी किनारमा बनाइएको उद्यानमा बालबालिकालाई रमाइलो वातावरणमा खेल्ने, भुल्ने र वृद्धवृद्धालाई टहलिन सजिलो भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट